npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरान युद्धमा अमेरिकाको दैनिक कति गरिरहेको छ?

नेपाल न्युज 1 day ago

काठमाडौँ। सन् २०२६ फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरान विरुद्ध सुरु आक्रमणका कारण अमेरिकी रक्षा बजेटमा ठूलो चाप परेको छ।

विज्ञहरूका अनुसार यो युद्धको कुल लागत कति हुन्छ भनेर अहिल्यै भन्न नसकिए पनि सुरुवाती केही दिनमै अमेरिकाले खर्बौँ नेपाली रुपैयाँ बराबरको धनराशी खर्च गरिसकेको छ।

इरानविरुद्ध अमेरिकाले सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ ले आर्थिक क्षेत्रमा पनि ठूलो हलचल ल्याएको छ।

स्टिम्सन सेन्टरका वरिष्ठ फेलो क्रिस्टोफर प्रिबलका अनुसार पेन्टागनले हालसम्म यसबारे आधिकारिक तथ्याङ्क सार्वजनिक नगरे पनि हतियारको प्रयोग र नौसैनिक परिचालनको आधारमा खर्चको अनुमान गर्न सकिन्छ। एनाडोलु न्युज एजेन्सीको रिपोर्टले ‘अपरेसन एपिक फ्युरी’ को पहिलो २४ घण्टामा मात्रै अमेरिकाले करिब ७७ करोड ९० लाख डलर खर्च गरेको देखाउँछ। आजको विनिमय दर (१ डलर = नेरु १४६.८४) अनुसार यो रकम झण्डै १ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ हुन आउँछ।

युद्ध सुरु हुनुअघि गरिएको सैन्य तयारी र विमानहरूको स्थानान्तरणमा थप ६३ करोड डलर अर्थात् करिब ९२ अर्ब ५१ करोड नेपाली रुपैयाँ खर्च भएको छ। त्यस्तै, समुद्रमा एउटा ‘क्यारियर स्ट्राइक ग्रुप’ सञ्चालन गर्न मात्रै अमेरिकाले दैनिक ६५ लाख डलर अर्थात् झण्डै ९५ करोड ४४ लाख रुपैयाँ खर्च गरिरहेको छ।

आर्थिक खर्च मात्र नभई हतियारको मौज्दातमा आउन सक्ने कमीले पनि अमेरिकालाई चिन्तित बनाएको छ। कुवेतमा तीनवटा अमेरिकी लडाकु विमानहरू नष्ट हुँदा करोडौँको क्षति भएको छ। अमेरिकाको वार्षिक रक्षा बजेट करिब १४६ खर्ब ८४ अर्ब रुपैयाँ (१ ट्रिलियन डलर) भए तापनि प्याट्रियट र एसएम-६ जस्ता अत्याधुनिक मिसाइलहरू तुरुन्तै उत्पादन गर्न नसकिने हुनाले लामो समयसम्म युद्ध लड्न कठिन हुने प्रिबलले चेतावनी दिएका छन्।

अर्कोतर्फ, ब्राउन युनिभर्सिटीको ‘कस्ट अफ वार’ रिपोर्ट अनुसार सन् २०२३ अक्टोबर देखि हालसम्म अमेरिकाले इजरायललाई मात्रै २१ अर्ब ७० करोड डलर अर्थात् ३१ खर्ब ८६ अर्ब ४२ करोड रुपैयाँ बराबरको सैन्य सहायता दिइसकेको छ।

यमन र इरान लगायतका क्षेत्रमा भएका अन्य सैन्य कारबाहीहरू समेत जोड्दा पछिल्लो दुई वर्षमा अमेरिकी करदाताहरूको करिब ५० खर्ब नेपाली रुपैयाँ खर्च भइसकेको छ। अमेरिकाले इरानविरुद्ध युद्धमा गरिसकेको खर्च रकममात्र झण्डै नेपालको साढे २ वर्षको वार्षिक बजेट र तुलनामा नेपालको अर्थतन्त्रको आकार बराबर हुँन आउँछ।

Read more news from नेपाल न्युज

Explore by Source or Category