EXCLUSIVE: प्रभु बैंक प्रकरणको भित्री कथा, ‘सिइओलाई फसाउने हो…, भन्दै के मात्र गरेनन् मणिरामले ?, अन्तत: आफैँ जाकिए’
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ), बैंकका डेपुटी सिइओ मणिराम पोखरेल, बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गर्यो । यो घटना मंशिर १४ गते, शुक्रबारको हो । त्यसको भोलिपल्ट विहान, यो समाचार लेख्दाका बखत बैंकका पक्राउ परेका तीनै जना सीआइबीको हिरासतमा छन् । बैंकले निरज लम्साललाई बैंकको कार्यवहाक सिइओको जिम्मा दिएको छ ।
धेरैले सोचेका छन्, ‘प्रभु बैंक भित्र ठुलो घोटाला भएको छ, सीइओ, डेपुटी सीइओ, र कर्जा अधिकृत मिलेर, ठुलै घोटाला गरेका छन् । देबी भट्टचनको घोटालामा उनीहरुले साथ दिए ।’ तर, घटना प्रकरण र अनुसन्धानको विषय केलाउँदा यसमा भएको के हो ? भन्दा पनि गर्न के खोजियो भन्ने कुराले उतिकै अर्थ राख्छ । आउनुहोस्, यसलाई सहज रुपमा बुझौँ ।
पहिला घटना विवरण बुझौँ ।
करिब १ अर्ब रुपैयाँ ठगी भएको दाबीसहित प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि प्रभु बैंकका पूर्व अध्यक्ष देबी भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लियो । जाहेरीमा दम नभएको भन्दै यो विषय केहि समय यता दर्ता नै भएको थिएन ।
बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँ ऋणको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । प्रभु म्यानेजमेन्टलाई दिएको ऋणा घुमाउरो तरिकाले जानकी मेडिकल कलजेमा पुर्याइएको हुन सक्ने देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको हो ।
जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि जो कोहि पक्राउ हुनु ठुलो विषय होइन । तर, कहिलेकाहिँ नियोजित रुपमा घटनाको ‘प्रोभोक’ हुँदा बैंकरले दु:ख पाएका घटना यसअघि पनि छन् । केहि बर्ष अघि तत्कालीन बैंक अफ काठमाडौँका पूर्व सीइओ अजय श्रेष्ठ यस्तै एउटा ऋणको प्रकरणमा पक्राउ परेका थिए । पछि उनले सो घटनामा सफाई पाए । अहिले पनि बैंकका सीइओ पक्राउ पर्नु भनेको उनी दोषी छन् भन्ने हुँदै होइन । अनुसन्धानका लागि प्रहरीले पक्रने प्रक्रिया पनि स्वाभाविक हो ।
त्यसो भए, केहि गल्ती नभईकन पनि प्रहरीले कसैलाई पक्राउ गर्न सक्छ ?
यसको सिधा जवाफ हो, अनुसन्धानको लागि प्रहरीले ‘आवश्यक देख्यो’ भने सक्छ । किनकि अपराध भएको हो वा होइन भन्ने यकिन गर्ने अदालतले हो । यसमा घटना विवरणबारे बाहिर के चर्चा चलिरहेको छ, प्रहरीलाई कहाँसम्म पनि शंका लागेको छ भन्ने विषयले पनि भूमिका खेल्छ । प्रहरीमा जाहेरीकर्ताले कोहि व्यक्तिमाथि अनुसन्धानको माग गरेको छ वा पक्राउ परेका कसैले बयानमा निजको नाम लियो भने पनि प्रहरीले ती व्यक्तिहरुलाई अनुसन्धानका लागि पक्राउ गर्न सक्छ ।
यो प्रकरणमा जाहेरीकर्ता कुसुम लामाले एक ठाउँमा बैंकका सीइओ अशोक शेरचनको नाम लिएकी छिन् । त्यो पनि, उनी दोषी छन् भन्ने कोणमा होइन । लामाको आशय, देबी भट्टचनले अशोक शेरचनको सल्लाह लिन्छन् भन्ने छ । सीइओ र अध्यक्ष भएपछि सो काम स्वाभाविक हो । थप कुरा अनुसन्धानबाट देखिने नै छ ।
अव सीआईबीको टोलीले प्रभु बैंकबाट कागज लगेको दिनमा फर्कौं ।
देवी भट्टचन पक्राउ परेपछि सीआईबीले कात्तिक २२ मा बैंकको केन्द्रीय कार्यालय पुगेर भट्टचन प्रकरण र अन्य केहि फाइलका महत्वपूर्ण कागजातहरु बैंकसँग माग्यो । त्यतिबेला सीआईबीलाई सबै कागज दिने व्यक्ति थिए मणिराम पोखरेल । बैंकका उनी डेपुटी सीइओ मणिराम पोखरेल, जो अहिले पक्राउ परेका छन् ।
सीआईबीले पोखरेलकहाँ पुगेर केहि फाइल मागेको थियो, जुन स्वाभाविक प्रक्रिया थियो । तर एक्कासी समाचारहरु यसरी आए कि, प्रभु बैंकमा सीआइबीले छापा मार्यो ।
त्यतिबेला नै प्रहरीले केहि फाइलहरु मागेको केसलाई छापा मारेको भन्दै मिडियामा गलत सूचना दिएको भन्दै मणिराम पोखरेलको चर्को आलोचना भयो । तर, कति जानेर, कति नजानेर, उनले ठुलो संख्यामा मिडिया ट्रायल गरे भन्ने आरोप उनीमाथि लागि नै रह्यो ।
घटनाक्रमले यस्तो पनि देखायो, उनी शनिबार प्राय कोहि न कोहि मिडियाका सम्पादक/संचालकसँग हुन्थे । संयोग, त्यसको केहि दिनमा बैंकका उच्च अधिकारीहरुको समाचार बाहिरिन्थ्यो । मिडियाका लागि उनी सूचनाको सम्पत्ति बनेका थिए । तर जानी, नजानी उनले केहि गलत कुराहरु पनि मिडियाकर्मीलाई भरेका थिए । उनी पक्राउ परेको अघिल्लो दिन शनिबारको ठ्याक्कै एक हप्ता अगाडी शनिबार पनि उनी एक मिडियाका संचालकसँग बसेका थिए । त्यसको केहि दिनमा बैंकका अधिकारीहरु विरुद्ध अनेक खबर बाहिरिए । मिडियाले डकुमेन्टसहित समाचार पाएपछि बनाउने नै भए, तर धेरै समाचारमा उनको ‘इन्ट्रेष्ट’ प्रष्ट देखिन्थ्यो ।
सीआईबीले फाइलहरु लगेपछि उनले केहि कर्मचारीहरुलाई बोलाएर मुस्कुराउँदै भनेका थिए, ‘अव बुडा (सीइओ) गए । मैले सबै कुरा बुझाएर पठाएको छु ।’ तर उनले सीआईबीलाई के बुझाए, उनै जानुन् ।
त्यसैबीचमा एक कर्मचारीले झोक्किंदै भनेका थिए, ‘अनि सर (सीइओ) गए पछि तपाईं जोगिनुहुन्छ ?’
उनले बडो आत्मविश्वासका साथ भनेका थिए, ‘उनी गए भने मेरो मन यसै शान्त हुन्छ । म त सँगै जाउँला नि, के भयो र ? तपाईंहरु पनि जेल जान तयार भएर बस्नुहोस्’
संयोग, यो कुरा उनले केहि मिडियाकर्मीलाई पनि भनेका रहेछन् । त्यसको भोलिपल्टै एक मिडियामा उनले सबैलाई जेल जान तयार भएर बस्नु भनेको समाचार सार्वजनिक भयो ।
अव प्रश्न उठ्न सक्छ, एउटा सीइओको विरुद्धमा कोहि किन यति धेरै लाग्छ ? बैंकको ब्राण्ड नै दाउमा लगाउँछ ? यो घटनासँग जोडिन्छ, सीइओको एउटा मेसेज ।
प्रभु बैंकले केहि समय अगाडी कर्मचारीको लागि भीआरएस ल्याउँछ । तत्कालीन सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंकको मर्जरपछि आएको सो भीआरएस योजना अनुसार नै मणिरामलाई निकाल्न चाहान्थ्यो बैंक ।
बैंक किन मनिरामलाई निकाल्न चाहान्थ्यो त ? यसको पछाडीको कारण थियो, मणिरामले विभिन्न ऋणीसँग कमिसन खाएको, र हुँदै नभएको धितो राखेर ऋण दिएको केस बैंकको ‘नोटिस’मा थियो । पोखरेलविरुद्ध केहि समयअघि मात्र पनि यहि केसमा काठमाडौँ जिल्ला अदालतमा मुद्धा परेको छ । सो मुद्धामा अझै पोखरेलले जवाफ फर्काएका छैनन् ।
चौतर्फी रुपमा उनको गुनासो आएपछि बैंकले उनलाई भीआरएस लिएर बैंक छोड्न भन्यो । सीइओको प्रष्ट मेसेज पनि यहि थियो । उनी सीइओको सो मेसेजपछि डेंगु लागेको भन्दै बिदामा बसे । संयोग पनि कस्तो, भीआरएस अप्लाई गर्ने मिति सकिएलगत्तै उनी बैंकमा हाजिर भए। एक दिन सीइओले खुलेरै उनलाई बैंक छोड्न भनेपछि अनि सुरु भयो, बैंकविरुद्धको पोखरेलका हर्कत ।
‘मणिरामले बैंकभित्रका कैफियतबारे प्रहरी अधिकारीहरुसँग पनि भन्थे । अझ बढाएर भन्थे ।’ उनी निकट एक सिनियर कर्मचारी भन्छन्, ‘सीइओकै समाचार छाप्न उनले कसैका नाममा अनलाइन खोल्ने योजनासमेत बनाएका थिए । प्रभु बैंकबाटै राम्रो विज्ञापन मिलाईदिने भन्दै उनले त्यसको तयारी गरेका थिए । तर उनले भने अनुसारको व्यक्ति नै पाएनन् ।’
जताततै प्रभुका कुरा उठेपछि सीआईबीले पनि अनुसन्धान गर्नुपर्छ, नगरे फेरी मिडियामा प्रश्न उठ्छ भनेर बैंकका उच्च अधिकारीहरुलाई समात्यो । यस्तो धेरैवटा केसमा यस्तो भएको छ । संचारमाध्यममा प्रश्न उठेपछि अनुसन्धान हुनु पनि ठुलो कुरा होइन । तर यसका नाममा धेरैले दुख पाएका छन् । कुनै बेला तत्कालीन बैंक अफ काठमाडौँका पूर्व सीइओ अजय श्रेष्ठको केसमा पनि, बैंकले जाहेरी दियो, बैंकभित्रैबाट मिडिया ट्रायल भयो, उनी समातिए । पछि सफाई पाए । सफाई त पाए, तर सँगै दुख पनि पाए ।
‘यस्तैगरी सीइओलाई एक दिन भए पनि पक्राउ गराउँछु भनेका मणिराम त सफल भए, तर उनीसमेत जोगिएनन् ।’ उनी निकट कर्मचारीले भने ।
यसो त अर्थ सरोकारले यस विषयमा चासो राखेपछि उनले आफुले सीआईबीलाई नमागेका फाइलको केसमा पनि विवरण दिएको र सो आफ्नो दायित्व भएको दाबी गरे । उनले सीइओले आफुलाई बैंक छाड्न भनेको तर आफुले नछाडेको पनि स्वीकार गरे ।

