npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु, स्वच्छता र पर्यटकीय प्रवर्द्धनमा महत्वपूर्ण कदम

पालिका ब्यूरो 1 week ago

काठमाडौं – लहान नगरपालिकाले हुलाकचोकस्थित मुख्य बजार क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण कार्य सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्यास गर्दै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउन यो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

करिब ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको स्मार्ट शौचालय चालु आर्थिक वर्ष भित्रै सम्पन्न गरिने जनाइएको छ। बढ्दो जनघनत्व र महेन्द्र राजमार्ग प्रयोग गर्ने यात्रुको चापका बीच वर्षौंदेखि लहानमा पर्याप्त एवं आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो। शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्न थालेको उल्लेख गर्दै यसको अत्यावश्यकता धेरै पहिलेबाट रहेको बताए ।

यस अत्याधुनिक स्मार्ट शौचालयमा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच हुने व्यवस्था रहनेछ। साथै स्तनपान कक्ष, चमेनागृह तथा सेनेटरी प्याड भण्डारणजस्ता सुविधा एउटै स्थानमा उपलब्ध हुने जनाइएको छ ।

शौचालयको माथिल्लो तलामा कफी सप सञ्चालन हुने व्यवस्था मिलाइनेछ भने भुइँतलामा चारपांग्रे सवारी धुने आधुनिक केन्द्र निर्माण गरिनेछ। त्यस्तै, विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ‘ई–भेहिकल चार्जिङ स्टेसन’ पनि यसको एक भागमा रहनेछ ।

लहानका दलित तथा मुसहर समुदायका क्षेत्रमा सरसफाइ दीर्घकालीन चुनौतीका रूपमा रहेको छ। यद्यपि दलित जनकल्याण युवा क्लबले करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरे पनि कमजोर व्यवस्थापनका कारण तीमध्ये धेरै प्रयोगविहीन बन्न पुगेको संस्थाका कार्यकारी निर्देशक विनोद विसुङ्केले बताए ।

नगरपालिकाले अब ती संरचनाहरूको पनि स्तरोन्नति गर्दै सुविधा तथा सेवाको गुणस्तर सुधार गर्ने तयारी गरेको छ। नगरप्रमुख चौधरीका अनुसार सामुदायिक, निजी तथा संस्थागत सहकार्यमा सार्वजनिक–निजी साझेदारी (एएए) नीतिअनुसार आधुनिक सरसफाइ संरचना विस्तार गरिनेछ ।

आधुनिक सार्वजनिक शौचालय परियोजनाले सहरलाई स्वच्छ, सुरक्षित तथा पर्यटकमैत्री बनाउने अपेक्षा गरिएको छ। विश्व शौचालय दिवसको अवसरमा नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गर्दै दिगो सरसफाइ अभियानलाई तीव्रता प्रदान गर्ने घोषणा गरेको छ ।

Read more news from PalikaNews

Explore by Source or Category