npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

निर्वाचन आयोगमा गगनले दिए निवेदन, ‘नयाँ कार्यसमिति चाँडोभन्दा चाँडो अद्यावधिक गरिपाउँ’

Basudev Timalsina 4 hours ago

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन परेको छ।

विशेष महाधिवेशनबाट सभापति चुनिए गगन थापाले बिहीबार आयोगमा पुगेर निवेदन बुझाएका हुन्। उनले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अद्यावधिक गर्ने काम सक्दो चाँडो गरिदिन आग्रह गरेका छन्।

‘विशेष महाधिवेशनले दलको केन्द्रीय कार्यसमिति परिवर्तन गरेको छ। पार्टी सभापति लगायत सिंगो कार्यसमिति फेरिएको छ। त्यसलाई अद्यावधिक गर्ने हाम्रो कर्तव्य हो। त्यसलाई पुष्ट्याइँ गर्ने सम्पूर्ण कागजात संलग्न गरेका छौं,’ गगनले भने, ‘निर्वाचन नजिक आएकाले हामी संवेदनशील छौं। हामीले आजै मात्र निर्वाचन परिचालन समिति, घोषणापत्र तयारी समिति र माघ ६ गते उम्मेदवार चयनका लागि संसदीय समिति निर्माण गर्ने काम सम्पन्न गरिसकेका छौं। अद्यावधिक गर्ने काम चाँडो भन्दा चाँडो भएपछि हामी अरु काम त्यही गतिमा अगाडि बढाउँछौं। आयोगले अद्यावधिक गर्ने काम चाँडो सक्ने हाम्रो विश्वास छ।’

गगन थापा नेतृत्वको कांग्रेसका महामन्त्री प्रदीप पौडेल

गगनले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले चाहँदा विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था अनुसार पुस २७ देखि ३० गतेसम्म ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थितिमा महाधिवेशन गरेको बताए।

‘विधानको धारा १७ को उपधारा २ अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले चाहँदा विशेष महाधिवेशन गर्नुपर्छ। यो अनिवार्य व्यवस्था हो। ४० प्रतिशतले माग गरेपछि विशेष महाधिवेशन नहुने कल्पना विधानले गरेको छैन। विधान बमोजिम भर्खरै विशेष महाधिवेशन आयोजना भयो। विधानको धारा ४६ बमोजिम गणपूरक संख्या पुगेको र यसरी आयोजना भएको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। पार्टीका सबै निर्णयभन्दा माथि अधिवेशनको निर्णय हुन्छ। गणपूरक संख्या भनेको ५० प्रतिशतभन्दा माथि हो,’ गगनले भने, ‘यी सबै रित अनुसार महाधिवेशन भयो। महाधिवेशनले केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ। यसैको जानकारी गराउन आज हामी यहाँ आएका छौं। राजनीति दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको कार्यसमिति परिवर्तनको विवरण अद्यावधिक गरिपाउँ भन्ने हाम्रो निवेदन छ।’

गगन थापा

The post निर्वाचन आयोगमा गगनले दिए निवेदन, ‘नयाँ कार्यसमिति चाँडोभन्दा चाँडो अद्यावधिक गरिपाउँ’ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category