npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

देशभरका ६ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

पालिका ब्यूरो 1 day ago

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम देशभरका ६ हजार ७४३ वटै वडामा सम्पन्न भएको छ । निर्वाचन आयोगले स्वीकृत कार्यतालिकाअनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम आजसम्म ७५३ वटै स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो ।

निर्वाचन आयोगका अनुसार प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्त्व, मतदान गर्ने तरिका र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको बताईन् ।

घरदैलोमै पुगेको शिक्षा

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो । यसले कार्यक्रमको कार्यान्वयनमा एकरूपता र प्रभावकारिता बढाएको आयोगको दाबी छ ।

सहायक प्रवक्ता श्रीसका अनुसार मतदाता शिक्षा सम्पन्न भइसकेपछि स्वयंसेवकहरूले प्रतिवेदन आयोगमा बुझाउने क्रम जारी रहेको छ । प्रतिवेदनका आधारमा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरिने जनाइएको छ ।

सचेत मतदाता निर्माणतर्फ कदम

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागीमूलक बनाउन मतदाता शिक्षा महत्वपूर्ण आधार मानिन्छ । विशेषगरी पहिलोपटक मतदान गर्ने युवा मतदाता तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले मताधिकारप्रति जागरूकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

मतदान प्रक्रियाबारे स्पष्ट जानकारी हुँदा मत बदर हुने दर घट्ने र नागरिकको सहभागिता बढ्ने विश्वास आयोगले व्यक्त गरेको छ । देशव्यापी रूपमा सम्पन्न गरिएको यो अभियानलाई लोकतान्त्रिक अभ्यास सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category