npl.977 Nepal News Stream

Sutra News logo Sutra News

देउवा बाहेक पूर्णबहादुर वा शेखर जसलाई भए पनि स्वीकार्न तयार थिए गगन

सुत्र न्युज 20 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री गगन थापाले आगामी निर्वाचन परिवर्तन भएको कांग्रेस लिएर जान प्रस्ताव गर्दा सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको खुलासा गरेका छन्।

केन्द्रीय कार्यसमितिको निर्णयपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले भने आफूहरूको माग पद वा व्यक्ति केन्द्रित नभई पार्टी रूपान्तरण केन्द्रित भएको सुनाए। तर, त्यो प्रस्ताव सभापति देउवाले स्वीकार नगरेको उनको आरोप छ।

उनका अनुसार विशेष महाधिवेशन पक्षको अडान ‘गगन थापा नै प्रधानमन्त्री वा सभापति हुनुपर्छ’ भन्ने थिएन। बरु, चुनावमा जाँदा पार्टीमा स्पष्ट परिवर्तनको सन्देश जानुपर्ने र त्यसका लागि शेरबहादुर देउवाबाहेक जोसुकैलाई अगाडि सार्न आफूहरू तयार रहेको उनले बताए।

‘म नै प्रधानमन्त्री वा सभापति हुनुपर्छ भन्ने हाम्रो माग होइन,’ थापाले भने, ‘शेखर कोइराला, पूर्णबहादुर खड्का वा जो सुकै भए पनि परिवर्तनको प्रतीक बनेर चुनावमा जान तयार थियौँ। तर परिवर्तनको प्रस्ताव नै अस्वीकार गरियो।’

उनले अगाडी भने, ‘विशेष महाधिवेशनको हलबाट कसलाई बनाउने हो बनाऊँ भनेर भनेको हुँ। फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले भदौ २३ अघिका केही कुरा बिर्सिएर आएको छ भनेर जनतामाझ जाँदा भन्न सकियोस् भन्ने मात्रै हो। म सभापति बन्ने कुरासँग जोडिएको कुरा नै होइन। शेखर, पूर्णबहादुर जोलाई बनाए पनि हुने थियो। म त अहिले महामन्त्री छु। विश्वप्रकाश शर्मा महामन्त्री छ। हामीले चुनाव लड्छौँ भन्दै गर्दै। ६-७ ठाउँबाट चुनाव लड्न आउनुहोस् भनेका थिए। हाम्रो बारेमा चिन्ता नै होइन।’

Read more news from Sutra News

Explore by Source or Category