मोरक्को उपाधि नजिक
एजेन्सी – मोरक्को २००४ पछि पहिलो पटक अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ।
सेमिफाइनलमा बुधवार नाइजेरियासँग ०–० को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा मोरक्कोले ४–२ को जित निकालेको हो।
पेनाल्टी सुटआउटमा गोलकिपर यासिन बुनुले उत्कृष्ट प्रदर्शन गर्दै सामुएल चुक्वुएजे र ब्रुनो ओन्येमेचीका प्रहार रोके। त्यसपछि युसुफ एन–नेसिरीले निर्णायक पेनाल्टी गोल गर्दै मोरक्कोलाई फाइनलमा पुर्याए। अब मोरक्कोले आइतबार सेनेगलसँग उपाधिका लागि खेल्नेछ।
खेलको १४औँ मिनेटमा नाइजेरियाका आदेमोला लुकम्यानले पहिलो प्रहार गरे पनि बुनुले सजिलै बचाए। सुरुआती समय दुवै टोलीले लय समात्न सकेनन्।
त्यसपछि मोरक्कोले खेलमा दबाब बढाए पनि नाइजेरियाका गोलकिपर स्टान्ली नवाबालीले गोल हुन दिएनन्। पहिलो हाफको अन्त्यतिर इस्माइल साइबारीको प्रहार पनि नवाबालीले रोके।
दोस्रो हाफ र अतिरिक्त समयमा पनि दुवै टोलीले केही अवसर बनाए। अतिरिक्त समयको पहिलो हाफमा अच्राफ हाकिमीको कर्नरमा नायफ आगुएर्दले हेडर गरे तर बल पोस्टमा ठोक्कियो।
निर्धारित र अतिरिक्त समयसम्म गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गयो। त्यहाँ बुनुको उत्कृष्ट बचाउ र एन–नेसिरीको निर्णायक गोलसँगै मोरक्को फाइनलमा प्रवेश गरेको छ ।
मानेको गोलमा सेनेगल उपाधि नजिक
इजिप्टलाई १–० ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको छ। योसँगै मोहम्मद सलाहको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ।
बुधबार राति मोरक्कोको तान्जियरमा भएको खेलमा सेनेगलका साडियो मानेले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
खेल खासै आकर्षक नभए पनि मानेको एक गोलले सेनेगललाई फाइनलमा पुर्यायो। सन् २०१० पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्स जित्ने लक्ष्यसहित इजिप्ट प्रतियोगितामा सहभागी भएको थियो। तर सेमिफाइनलमै हार बेहोर्दै उसले फाइनल खेल्न पाएन।
खेलपछि मानेले मोहम्मद सलाहका लागि यो क्षण कठिन भएको बताए। उनले सलाहले टोलीलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेलेको बताए।
यसअघि पनि मानेले २०२१ को अफ्रिका कप अफ नेसन्सको फाइनल र २०२२ विश्वकप छनोटमा इजिप्टलाई हराउँदै सेनेगललाई जित दिलाएका थिए।

The post मोरक्को उपाधि नजिक first appeared on हाम्रो खेलकुद.