नेपालमा पर्यटन सुरक्षालक्षित हिमालयन गार्जियन नेपालले ल्यायाे विशेष प्याकेज
काठमाडौं । हिमालयन गार्जियन नेपाल (एचजीएन) नेपालमा साहसिक पर्यटनको सुरक्षालाई व्यवस्थित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउने उद्देश्यले स्थापना गरिएको पहिलो समग्र सुरक्षा प्रणाली हो। हिमाली क्षेत्रमा यात्रा गर्ने विदेशी पर्यटक, ट्रेकर र पर्वतारोहीहरूको सुरक्षा सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि नक्कली बीमा, उद्धारमा ढिलाइ र कमजोर चिकित्सकीय समन्वयजस्ता समस्या देखिंदै आएका थिए। यिनै समस्याको समाधानका लागि काठमाडौंमा आधारित एचजीएन स्थापना गरिएको हो। एचजीएनले बीमा, प्रविधि, उद्धार र स्वास्थ्य सेवालाई एउटै संरचनामा जोडेर साहसिक पर्यटनलाई सुरक्षित बनाउने प्रयास गरेको छ।
एचजीएनको प्रमुख पहल कम्प्रिहेन्सिभ टुरिजम गार्ड (सीटीजी) हो। यस प्रणालीअन्तर्गत बीमा सेवा, जीपीएस ट्र्याकिङ, स्याटेलाइट सञ्चार र चौबीसै घण्टा उद्धार सेवालाई एउटै प्याकेजमा समेटिएको छ। यात्रुहरूले आफ्नो यात्राको प्रकृतिअनुसार आधारभूत, प्लस र प्रो प्याकेज खरीद गर्न सक्ने व्यवस्था गरिएको छ।
बीमा सेवाका लागि एचजीएनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स नेपालसँग सहकार्य गरेको छ भने लण्डनस्थित लोयड्स, एभरेष्ट री र हानोभर री जस्ता अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूको समर्थन पनि रहेको छ। यस बीमाले दुर्घटना, उचाइसम्बन्धी रोग, आपतकालीन उद्धार, चिकित्सकीय उपचार, आकस्मिक मृत्यु वा अपाङ्गता तथा यात्रु वा शव स्वदेश फिर्ता पठाउने खर्च कभर गर्दछ। बीमा कभरेजको सीमा अधिकतम ३५ हजार अमेरिकी डलरसम्म रहेको छ।
यो प्रणाली जीपीएस–ट्रेसर उपकरणमार्फत सञ्चालन हुन्छ जसले यात्रुको अवस्थालाई वास्तविक समयमा निगरानी गर्छ र आपतकालीन अवस्थामा एसओएस संकेत पठाउन सक्ने सुविधा दिन्छ। काठमाडौंस्थित चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टरले यात्रुहरूको निगरानी गर्दै आपतकालीन अवस्था आएमा ३० मिनेटभित्र हेलिकप्टर वा स्थल उद्धार टोली परिचालन गर्ने व्यवस्था गरेको छ।
पर्यटकका लागि ३ हजार ५०० मिटरसम्म र १४ दिनको यात्राका लागि आधारभूत प्याकेजको शुल्क १६ अमेरिकी डलर रहेको छ। ट्रेकरका लागि ५ हजार ५०० मिटरसम्म र १४ देखि २८ दिनसम्मको प्लस प्याकेजको शुल्क १५० देखि ३०० अमेरिकी डलरसम्म पर्छ। त्यस्तै ६ हजार मिटरसम्म र ६० दिनसम्मका लागि पर्वतारोहीहरूका लागि प्रो प्याकेजको शुल्क ५०० अमेरिकी डलर तोकिएको छ।
एचजीएनले प्रविधिका लागि बेइदोउ कम्युनिकेशनलगायतका संस्थासँग सहकार्य गरेको छ। चिकित्सकीय सहयोग ह्याम्स अस्पताल र ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पतालमार्फत प्रदान गरिन्छ भने उद्धार कार्य असिस्ट अमेरिका र अल्पाइन रेस्क्युजस्ता संस्थाहरूसँग समन्वयमा सञ्चालन गरिन्छ।
