npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सहकारी पीडितको आन्दोलन: ३ वर्षसम्म बचत फिर्ता नपाउँदा बुद्धनगरमा निरन्तर प्रदर्शन

टक्सार न्युज 7 hours ago

काठमाडाैँ । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । 

मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ ।

सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ । उनले सरकारले पटकपटक वार्ता गरेपनि आफुहरूको माग पूरा नगरेको बताए ।

कतिपय सहकारी पीडितहरू डिप्रेशनको शिकार समेत बनेको उनको भनाइ छ । उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताए । उनले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए ।

उनले जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरूको माग पूरा नपरेको बताए । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । 

Read more news from Taksar News

Explore by Source or Category