npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् -सुरक्षा फौज

इन्द्र कमल रोक्का 8 hours ago

काठमाडौं । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा उनले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताए ।

यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत, निर्वाचन सामग्रीसहित नेपाल प्रहरीको टोली पुगिसकेको जानकारी दिए ।

मौनअवधिमा निर्वाचन विरोधी गतिविधि गर्ने, सामाजिक सञ्जालको दुरूपयोगलगायतका गतिविधि रोक्न सम्पूर्ण प्रहरीलाई विशेष निर्देशन दिइएको जानकारी दिँदै उनले त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिको पहिचान, नियमन र नियन्त्रण गरी संलग्नलाई कारबाही गर्न खटाइसकेको बताए ।

प्रवक्ता काफ्लेले निर्धक्क भएर अमूल्य मत दिन आग्रह गरे । उनका अनुसार देशभर २०० को सङ्ख्यामा रहेका साइबर प्रहरीले सामाजिक सञ्जालको निगरानी गरी त्यसखालको दुरूपयोग हटाउन सक्रिय रहेका छन् । त्यसक्रममा ३४ जना पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न पनि धमाधम पक्राउ परिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट चारवटै सुरक्षा निकाय निकाय समन्वयात्मकरूपमा परिचालित भई सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । “धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न परिचालित भएका छौँ”, उनले भने ।

सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता भट्टले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरे ।एक सय ६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा वेस स्थापना भएका छन् । फागुन ७ गतेदेखि सबै क्षेत्रमा नियमित गस्ती टोली खटिइएका छन् । यसअघिको निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षा विश्लेषण गरी मजबुत तुल्याइएको प्रवक्ता भट्टले जानकारी दिए ।

यस्तै सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी गरिएको र गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द भएको उनले जानकारी दिए ।

धमाधम मतदान केन्द्र व्यवस्थापन गरिँदै

यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतादन केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचनका लागि प्राप्त निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन सङ्कलन गरी मतदान केन्द्र र मतदान स्थल निर्माण गरिएको छ ।

कतिपय स्थानमा आज सर्वदलीय बैठकसमेत सम्पन्न भएका छन् । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण, सर्वदलीय बैठकलगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिए । उनले भने, “सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री सम्पूर्णरूपमा बुझिसकेका छन् । भोलि सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।”

Read more news from Kendrabindu

Explore by Source or Category