Sutra News
रविविरूद्धका मुद्दा फिर्ताप्रति जेनजी मुभमेन्टकाे आपत्ति, माग्याे महान्यायाधिवक्ताकै राजीनामा
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ। मुभमेन्टले यस्तो प्रयासले कानुनी शासन, लोकतान्त्रिक मूल्य र पीडितको न्यायमाथि प्रत्यक्ष आघात पुगेको ठहर गरेको छ।
मुभमेन्टले विद्रोहको भावनालाई कमजोर बनाएको आरोप लगाएको छ। यस्तो कदम लोकतान्त्रिक अभ्यास, पीडितको न्याय र राज्यको संवैधानिक दायित्वविपरीत रहेको मुभमेन्टको निष्कर्ष छ।
सहकारी ठगीका लाखौँ पीडित अझै पनि न्यायको प्रतीक्षामा रहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा बाँच्न बाध्य भएको अवस्थालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने मुभमेन्टको जोड छ। सङ्गठित अपराधको अभियोग लागेका व्यक्तिलाई दिइने कुनै पनि प्रकारको उन्मुक्तिलाई जेनजी विद्रोहप्रति गरिएको धोका र बलिदानप्रतिको गम्भीर अपमानको रूपमा व्याख्या गर्दै मुभमेन्टले स्पष्ट शब्दमा भनेको छ, “कानुन सबैका लागि समान हुनुपर्छ। शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन।”
जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उनले नियुक्त गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न पनि आह्वान गरेको छ। साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसमक्ष कडा माग अघि सारेको छ।
यस्ताे छ जेनजी मुभमेन्टकाे विज्ञप्ति
