खड्का ऊर्जामन्त्री हुँदाका हर्ताकर्ता अरुण केसी लगानी बोर्डको संचालक बन्दै, ‘हामी अचम्ममा पर्यौं’
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सरकारले अरुण केसीलाई लगानी बोर्डको सदस्यमा नियुक्त गर्ने भएको छ।
दीपक खड्का ऊर्जामन्त्री भएका बेला हर्ताकर्ता रहेका केसीलाई सर्वोच्च अदालतको एक न्यायाधिशको सिफारिशमा केसीलाई सदस्यमा नियुक्त गर्न लागिएको हो। उनी माउन्टेन इनर्जी संचालक हो। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।
‘सर्वोच्चको न्यायाधिशको सिफारिशमा उहाँ नियुक्त हुन लागेको बुझिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बिजमाण्डूसँग भने, ‘खड्का ऊर्जामन्त्री हुँदा उहाँको बोलवाला चल्थ्यो। यस्तो थाहा हुँदाहुँदै जेनजीको सरकारले नियुक्त गर्न ल्याउँदा हामी पनि अचम्ममा परेका छौं।’
ऊर्जा मन्त्रालयका स्रोतका अनुसार खड्का विवादमा परेको हरेक निर्णयका पछाडि केसीनै रहेका थिए। १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा चेक लेनदेन प्रकरणमा समेत केसीको संलग्नता रहेको स्रोतले बतायो। ‘
कुनै एउटा कम्पनीलाई ठेक्का दिलाउनका लागि मन्त्री खड्काको कार्यकक्षमै चेक वितरण गरेका बेला पनि केसीसँगै थिए,’ स्रोतले भन्यो, ‘चेक वितरणको विषय अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।’
इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का लिनका लागि आवेदन दिएकामध्ये ४ कम्पनीलाई प्रतिस्पर्धा छाड्न ठेक्का मूल्यको एकरएक प्रतिशत रकमको चेक खड्काकै कार्यकक्षबाट बाँडिएको थियो। यो ठेक्का झण्डै १६ अर्ब रुपैयाँ बराबरको थियो।
झण्डै डेढ साताअघि मन्त्री खड्का ग्यारेन्टी बसेर प्रतिस्पर्धामा रहेकामध्ये चार कम्पनीलाई १५ करोड रुपैयाँका दरले चेक दिइएको थियो। मन्त्रालयकै ती कर्मचारीका अनुसार विद्युत विकास विभागले ६ वटा जलविद्युत आयोजनाको लाइसेन्स वितरणमा समेत केसीनै सतहमा देखिएका थिए।
विभागले वैशाख २७ गते ८ वटा जलविद्युत आयोजनाको लाइसेन्स बिक्रीका लागि सूचना निकाल्दा १६ वटा कम्पनीले आवेदन हालेका थिए। तात्कालिन विभागका महानिर्देशक नविन सिंहले केही आयोजनामा आफैंले प्रतिस्पर्धा देखाउनका लागि केही कम्पनीलाई बोलाएर आवेदन हाल्न लगाएका थिए। मन्त्री खड्का र उनै अवैतानिक सल्लाहकार केसीको योजनामा सिंहले बोलाएर आवेदन हाल्न लगाएको स्रोतले बतायो।
स्रोतका अनुसार सिंहले आफूले काम गरिदिएका कम्पनीलाई आवेदन पछि फिर्ता लिन कबुल गराएर प्रतिस्पर्धामा सहभागी गराएका थिए। ‘हामीले सहयोग मात्रै गरेका हौं। हामीलाई महानिर्देशकज्यूले बोलाएर आवेदन हाल्न भन्नुभएको थियो। त्यही आधारमा प्रतिस्पर्धामा भाग लिएका हौं,’ आवेदन हालेको एक कम्पनीका संचालकले बिजमाण्डूसँग भनेका थिए।
स्रोतका अनुसार केही आयोजना केसीले लगेका छन्। त्यसमा उनै न्यायाधिशलाई पनि केसीले सेयर सुनिश्चतता गरिदिएका छन्। तर, केसीले भने बुढानिलकण्ठ बस्ने भएकाले दीपक खड्कासँग सामान्य भेटघाट मात्रै रहेको दाबी गरे। ‘म कुनै पार्टीमा छैन। म विशुद्ध व्यवसायी मान्छे हो। बुढानिलकण्ठ घर भएकाले सामान्य भेटघाट भएको छ,’ उनले जिकिर गर्दै भने, ‘अहिले पनि कामकै सिलसिलामा पोखरामा छु।’
The post खड्का ऊर्जामन्त्री हुँदाका हर्ताकर्ता अरुण केसी लगानी बोर्डको संचालक बन्दै, ‘हामी अचम्ममा पर्यौं’ appeared first on BIZMANDU.