भृकुटीमण्डपमा ‘घर निर्माण फेस्ट’ आयोजना हुँदै, २०० कराेडकाे काराेबार हुने अनुमान
काठमाडौं । दाेस्राे संस्करणकाे घर निर्माण फेस्ट २०८२ घाेषणा गरिएकाे छ। घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयाेजना गर्न लागेकाे हाे।
फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेकाे भए पनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेका छन्। ती चुनाैती समाधान गर्द फेस्टले सहयोग पुग्ने विश्वास आयोजकको छ।
प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले ग्राहक लक्षित कार्यक्रम गर्नेछन्। ४ दिनसम्म चल्ने फेस्टका क्रममा करिब २०० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ।
कार्यक्रममा निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकको छ।
मेलामा आकर्षणकाे रुपमा फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाइएको छ। हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर छ।
त्यस्तै, आकर्षणकाे रुपमा ‘उल्टो घर’ प्रदर्शनीमा रहनेछ। घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ। यसबाट अवलोकनकर्तालाई नयाँ अनुभव हुने आयाेजकले जनाएको छ। त्यस्तै, ‘डोम हाउस’ अवधारणा पनि प्रदर्शनीमा रहनेछ। नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकको दाबी छ।
फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ। इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ।
The post भृकुटीमण्डपमा ‘घर निर्माण फेस्ट’ आयोजना हुँदै, २०० कराेडकाे काराेबार हुने अनुमान appeared first on BIZMANDU.