npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

थारूले नै बिर्सिएको थरूहट राजनीति

कृष्णराज सर्वहारी 13 hours ago

२ साउन २०५७ मा कमैया प्रथा अन्त्य हुनुअघिसम्म पश्चिमको थारू समुदायले केमा भोट हाल्ने भन्ने कुरा मालिकले नै तय गर्थे। थारू गाउँको अगुवा बरघर पनि जमिनदारको मुट्ठीमा हुन्थे। बरघरमार्फत मालिकले उर्दी जारी गर्थे, ‘अप्कि भोट फलाना चिन्हामे डर्ना बा, सब गँवल्यन बटा डिहिस। टरे उप्पर हुइ टो ठिक नाइ हुइ।’ (यसपालि भोट फलाना चिह्नमा हाल्नु छ, सबै गाउँलेलाई भन्दिएस्। तल माथि भए ठीक हुनेछैन।) बरघर ‘हस् हजुर’ भन्थे। सवालजवाफ गर्नै सक्तैनथे।

आज समयसँगै हिजोका ‘कमैया’ ले पनि काँचुली फेरेका छन्। कुनै बेलाका कमैया, कमलरी आज सांसद भएका छन्। २०६३ सालको अन्तरिम संसद्‌मा त बर्दिया, माछागढकी कमैया परिवारकी मोतीदेवी चौधरीलाई माओवादीले सांसद नै बनायो। पहिलो संविधानसभाको चुनाव २०६४ मा माओवादीले कमैया पृष्ठभूमिका सुन्दरा चौधरी (बर्दिया), सुकदैया चौधरी (कैलाली) अनि एमालेले शान्ता चौधरी (दाङ)लाई समानुपातिकतर्फ संविधानसभा सदस्य चयन गर्‍यो।

मोतीदेवी एक वर्ष सांसद बनिन्। जब पदावधि सकियो, कसैले काममा पनि बोलाउन छाड्यो। सांसद भइसकेको मान्छेलाई कसरी मजदुरी गर्न बोलाउने? धेरैले यही भने।

चुनाव झन् झन् खर्चिलो हुँदै गएकाले सीमान्तीकृत वर्गका प्रतिनिधि मूलधारको राजनीतिमा आउन खुट्टा कमाइरहेका छन्।

मोतीदेवी अहिले बितिसकिन्। सुन्दरा, सुकदैया गुमनाम छन्। केवल शान्ता मात्र बाँकी छिन्। चुनाव झन् झन् खर्चिलो हुँदै गएकाले यी सीमान्तीकृत वर्गका प्रतिनिधि मूलधारको राजनीतिमा आउन खुट्टा कमाइरहेका छन्।

रञ्जिता श्रेष्ठ र रेशम चौधरी।

त्यसो त माओवादीले थारू समुदायका ६ जनालाई २०६३ सालमा अन्तरिम संसद्‌मा लगेको थियो। तर, २५ फागुन २०६४ मा माओवादीले थरुहट पहिचानको मुद्दा ओझेल पारेको भन्दै कैलालीका तत्कालीन इन्चार्ज लक्ष्मण थारूले विद्रोह गरे। त्यसपछि नै हो, भनेर चिनिने दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थरुहट पहिचानको राजनीतिले झन्डा फहराएको। पहिचानको राजनीतिको यस मुद्दालाई रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को नाममा पुनर्जीवन दिन खोजे।

त्यसैकारण हुनुपर्छ, गत चुनावमा थारूले नाउपालाई नै सघाए। तर, अहिले चुनावको सँघारमा थारू राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ समाउन पुगेका छन्। उनकै अगुवाइमा नाउपा नेपाल कैलाली ५ का उम्मेदवार जगन्नाथ चौधरी पनि रास्वपा प्रवेश गरेका छन्। रेशमको नाउपा ढकिया चकिया हुँदै चुनावमा त होमिएको छ, तर घरझगडाले चकियाबाट केही झर्ला जस्तो देखिँदैन। त्यसो भए अब के होला त थरुहट पहिचानको राजनीतिको भविष्य? यो लेख यही विषयमा केन्द्रित छ।

अस्थिर थारू

दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सहभागी लक्ष्मण थारूलाई पार्टीले थरुहट स्वायत्त प्रदेशको मुद्दा छोड्ला भन्ने लागेको थिएन। तर, उनले सोचेजस्तो भएन। त्यसैले माओवादीबाट विद्रोह गरेलगत्तै उनले थरुहट-थारूवान स्वायत्त आन्दोलन सुरु गरे। उनकै अगुवाइमा २७ साउन २०६८ मा नेपालगन्जमा थरुहट तराई पार्टी नेपाल घोषणा भयो। यस पार्टीबाट ४ मंसिर २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा गोपाल दहित र गंगा सत्गौवा थारू समानुपातिक सांसद बन्न सफल भए। जबकि, थारू चुनावभन्दा डेढ महिनाअघि मात्र १८ असोजमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीमा प्रवेश गरिसकेका थिए।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि थारूले भने फोरम लोकतान्त्रिकको अगुवाई गर्ने गीता क्षेत्रीलाई नै साथ दिए। तर, २०७९ सालको प्रदेश तथा संसदीय चुनावमा उनी नागरिक उन्मुक्ति पार्टीमा पुगे। टीकापुर काण्डपछि रेशम चौधरी जेलमा छँदा बाहिर थरुहटको राजनीतिको आगो थारूले नै फुकिरहेका थिए। अहिले फेरि चुनावकै बेला थरुहट पहिचानको राजनीति गर्ने थारू किन रास्वपा प्रवेश गरे? बरु पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मै गएको भए पो उनको पहिचानको राजनीति केही हदसम्म जोगिने थियो कि? कतिपयले यसो पनि भन्ने गरेका छन्।

योगेन्द्र चौधरी र सुरेन्द्र चौधरी।

रास्वपा प्रवेशसँगै थारूको पहिचानको राजनीतिले विश्राम लिएको छ। जसरी बालेन शाहको रास्वपा प्रवेशले मधेश घण्टीमय भएको छ। त्यसैगरी, थारू र उनको समूहको प्रवेशले थरुहट भूमिमा रास्वपाले तरंग ल्याएको छ। यद्यपि, थारूलाई व्यक्तिगत रूपमा यस चुनावमा घाटा लागेको छ। कुनै बेला काठमाडौँको थापागाउँ, बिजुलीबजारमा ‘थारू भिलेज’ होटल खोलेका उनले होटल बन्द गरेको जानकारी समयमा दिएका रहेनछन्। आफ्नो नामको कम्पनी अद्यावधिक नगरेको भनी कालोसूचीमा देखिँदा उनले उम्मेदवारी दिन पाएनन्।

थरुहट पहिचान राजनीतिको थारू नेतृत्वले धेरै नेता भने जन्मायो। तर, रास्वपा प्रवेशमा उनले थारू मुहार खासै देखाउन सकेनन्। रास्वपाबाट कैलाली, कञ्चनपुर, दाङको कुनै क्षेत्रमा प्रत्यक्षतर्फ थारू समुदायका उम्मेदवार छैनन्। कञ्चनपुरबाट गीता चौधरी अनि दाङबाट सुरेन्द्र चौधरी रास्वपा समानुपातिकमा थारू कोटाबाट महिला र पुरुष कोटामा सूचीको एक नम्बरमा छन्। बाँके र बर्दियामा रास्वपाबाट प्रत्यक्ष उम्मेदवार रहेका सुरेश चौधरी र ठाकुरसिंह थारू लक्ष्मण थारूको समूहमा थिएनन्। एमाले पृष्ठभूमिका यी दुई गत चुनावमा नाउपाबाट सांसदको प्रत्यक्ष उम्मेदवार थिए। उनीहरूलाई रास्वपा ल्याउन बालेन टोलीका सुरेन्द्र चौधरीको भूमिका छ।

‘ब्याज’ खाने रेशम

थरुहट तराई पार्टीले आफूलाई फोरम लोकतान्त्रिकमा विलय गराएपछि उसको चुनाव चिह्न ‘ढकिया’ नागरिक उन्मुक्ति पार्टीले लिएको थियो। १९ पुस २०७८ मा मात्र बनेको नाउपाले २०७९ सालको चुनावमा प्रतिनिधिसभामा चार सांसद, प्रदेशमा १२ सांसद तथा स्थानीय तहमा चार वटा पालिकाको प्रमुखमा विजयी हासिल गर्‍यो। विडम्बना, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो समूहलाई नेपाली कम्युनिस्ट पार्टीमा विलय गराएपछि ढकिया पुनः प्रयोजनविहीन बन्न पुगेको छ। प्रदेशका १० सांसद नेपाली कम्युनिस्ट पार्टीका सांसद भएका छन्।

निर्वाचन आयोगले अध्यक्षबाट रञ्जितालाई नहटाएपछि रेशमले पार्टीको पछाडि नेपाल थपेर नाउपा नेपाल पार्टी नै दर्ता गरे। तर, नेतृत्व पूर्वसांसद गंगाराम चौधरी, अरुणकुमार चौधरीलाई नदिई भान्जा कविर सोपलाई सुम्पिए।

यसपालिको चुनावमा नाउपाबाट जितेका चारै जना सांसद मैदानमा छैनन्। रञ्जितालाई पार्टी अध्यक्ष देखिनसहने रेशमले एक पटक आफैँ, अर्को पटक बुबा लालवीर चौधरीलाई अध्यक्षमा अघि सारे। निर्वाचन आयोगले अध्यक्षबाट रञ्जितालाई नहटाएपछि उनले पार्टीको पछाडि नेपाल थपेर नाउपा नेपाल पार्टी नै दर्ता गरे। तर, नेतृत्व पूर्वसांसद गंगाराम चौधरी, अरुणकुमार चौधरीलाई नदिई भान्जा कविर सोपलाई सुम्पिए। थारू आयोगको सदस्यबाट राजीनामा दिएर आएका उमाशंकर चौधरीलाई महासचिव बनाए। नाउपाले गत वर्ष जितेको कैलाली १, २ र ३ मा क्रमशः ठग्गाराम चौधरी, पतिराम चौधरी र विक्रम चौधरी नाउपाबाट उम्मेदवार छन्। कैलाली १ बाट आफैँ उठेका रेशमको उम्मेदवारी निर्वाचन आयोगबाट खारेज भएपछि नाउपाको समर्थनमा ठग्गाराम स्वतन्त्र उम्मेदवार हुन्।

२१ पुसमा रास्वपासँगको समायोजन घोषणासभामा रास्वपा सभापति रवि लामिछाने र अन्य पदाधिकारीसँग लक्ष्मण थारू (दायाँबाट दोस्रो)।

नाउपाबाट टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित रामलाल डंगौरा थारू नै नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट कैलाली १ मा प्रतिस्पर्धी छन्। भजनी, जोशीपुर, जानकी बाँकी तीन पालिकाका अध्यक्षहरू केवल चौधरी, चित्रबहादुर चौधरी र गणेश चौधरी नखुले पनि उज्यालो नेपाल पार्टीलाई सघाएको देखिन्छ। नाउपा छाडेर रास्वपा छिरेका सुरेन्द्र चौधरीले त नाउपाले समानुपातिकमा ३५ हजार मत पनि कटाउन नसक्ने अभिव्यक्ति दिएका छन्। जबकि, अघिल्लो प्रतिनिधिसभामा नाउपाले समानुपातिकतर्फ दुई लाख ७१ हजार ७६४ मत ल्याई आफूलाई बलियो शक्तिका रूपमा उभ्याएको थियो। कैलाली १ मा थरुहट पहिचानको राजनीतिक छवि बनाएका नेपाली कांग्रेसका जनकराज चौधरी बलियो उम्मेदवार हुन्। २०७० सालको संविधानसभाको चुनावमा जनक यही क्षेत्रमा फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए। यसअघि रञ्जिता श्रेष्ठसँग हारेका कांग्रेसका रामजनम चौधरीको आशीर्वाद पाएमा जनक पुनः सांसद बन्न सक्छन्।

अहिले कैलालीमै सुनसान देखिएको नाउपा अस्तित्व जोगाउन मोडमा आइपुगेको छ। यसको मुख्य कारण भनेको पार्टी थरुहट आन्दोलनको जगमा खडा भएको नभई आफ्नै बलबुतामा मात्र बनेको भन्ने रेशमको अहम् नै हो।

दाङमा दाजुभाइ

दाङ १ मा पहिचानवादी नेताको छवि बनाएका योगेन्द्र चौधरी र उनकै दाजु सुरेन्द्र चौधरी चुनावी मैदानमा छन्। विशेष महाधिवेशनबाट थारू कोटाअन्तर्गत कांग्रेसको सहमहामन्त्री चुनिएका योगेन्द्र २०६४ सालको चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका थिए। कुनै बेला लक्ष्मण थारूसँगको संसर्गमा रहेका उनी २०७० सालको चुनावमा फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए। २०७९ सालको चुनावमा कांग्रेसबाट थारू कोटातर्फ समानुपातिक सूचीमा एक नम्बरमा भएर पनि उनी सांसद बन्न सकेनन्। यसपटक भने ‘गर या मर’ को आक्रामक घरदैलो अभियानमा जुटेका छन्।

उता, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा छँदा थरुहट पहिचानका नेताहरूसँग छलफलदेखि सुरक्षासम्मको व्यवस्था मिलाएका सुरेन्द्र चौधरी रास्वपाबाट थारू कोटाबाट समानुपातिकको एक नम्बरमा छन्। लक्ष्मण थारू र उनको टोलीलाई रास्वपामा प्रवेश गराउन पनि खटेका उनको यस पटक भने जसरी भए पनि सांसद बन्ने सपना छ। उनी २०७९ सालको चुनावमा नाउपाबाट दाङ १ मा उम्मेदवार बनेका उनले २०७४ को चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

दहितविनाको बर्दिया

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति थालेका बर्दिया २ का गोपाल दहित यसपालि ‘अभागी’ साबित भए। कांग्रेसमा शेरबहादुर देउवा पक्षधर उनी गगन थापा पक्षमा खुलेकै कारण विशेष महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बनेका थिए। तर, चुनावमा टिकट किशोरसिंह राठौरले पाए।

अहिले अरू जिल्लाको चुनावी दौडाहामा पार्टीका उम्मेदवार जिताउन सक्रिय भए पनि आफ्नै निर्वाचन क्षेत्रमा भने उनी पुगेका छैनन्।

थरुहट तराई पार्टी नेपालको अध्यक्षबाट लक्ष्मण थारूले राजीनामा दिएपछि कैलालीका भानुराम चौधरी अध्यक्ष बनाइएका थिए। तर, पार्टीको बागडोर दहितको हातमा थियो। सबै निकायमा छुट्टै थारू कोटाको वकालतदेखि थारू आयोग गठनको भूमिकासम्म उनले निकै पसिना बगाएका छन्।

बर्दिया २ मा कांग्रेसका राठौर र नेकपाका सुरेश पन्थलाई उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरीले टक्कर दिइरहेका छन्। नाउपाका तर्फबाट प्रदेश सांसद रहेका उनी उज्यालो नेपाल पार्टीको महासचिवको जिम्मेवारीसँगै उम्मेदवार बनेका छन्। पटक पटक लुम्बिनी प्रदेशको मन्त्री भएका उनी आफ्नो क्षेत्रमा प्रभावशाली मानिन्छन्। बर्दिया २ मा अघिल्लो चुनावमा रेशमका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवार बन्दै चुनाव जितेका थिए। यस पटक भने प्रदेश सांसदबाट राजीनामा दिएका खुशीराम चौधरी नाउपाबाट उम्मेदवार बनेका छन्। अघिल्लो चुनावमा थारू उम्मेदवार नहुँदा लालवीरलाई सहानुभूति भोट गएजस्तै यस पटक यस्तो भोट धर्मबहादुरलाई सरेमा आश्चर्य नहुने देखिएको छ।

अन्त्यमा,

दाङदेखि कञ्चनपुरसम्म थारू बहुल पाँच जिल्लामा प्रत्यक्षतर्फका १६ वटा निर्वाचन क्षेत्र छन्, जसमा एमालेले एक जना, कांग्रेस तथा रास्वपाले दुई दुई जना र नेकपाले तीन जनालाई टिकट दिएका छन्। टिकट पाएका यी अनुहारमा एमाले र नेकपा उम्मेदवारको पहिचानवादी राजनीतिको पृष्ठभूमि छैन। त्यसैले यो आलेखमा तिनको चर्चा गौण रह्यो।

कांग्रेसबाट दाङ १ का योगेन्द्र चौधरी, कैलाली १ का जनक चौधरी, उज्यालो नेपाल पार्टीबाट बर्दिया २ का धर्मबहादुर चौधरी, रास्वपाबाट बर्दिया १ का ठाकुरसिंह थारू र बाँके १ का सुरेशकुमार थारू पनि बलिया प्रत्याशी हुन्। यी अनुहारहरूको विजयले पहिचानको राजनीतिको ढुकढुकी रहिरहनेछ।

– स्वतन्त्र पत्रकार सर्वहारी ‘थरुहट आन्दोलन : टीकापुर कथा’ पुस्तकका लेखकसमेत हुन्। 

Read more news from नेपाल न्युज

Explore by Source or Category