npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

गगनले आधिकारिकता पाएपछि देउवा पक्षको रणनीतिः कानुनी लडाईंसँगै सडक आन्दोलन

Narayan 3 hours ago

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत चयन भएको गगनकुमार थापाको नेतृत्वको कार्यसमितिलाई मान्यता दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आन्दोलनमा जाने भएको छ।

दुबै पक्षको विवरणको अध्ययन गरेर शुक्रबार साँझ विशेष महाधिवेशनमार्फत चयन भएको नेतृत्वलाई अध्यावधिक गर्ने निर्णय गरेको छ। आयोगको उक्त निर्णयलाई थापा पक्षले स्वागत गरेको छ भने देउवा पक्षले अमान्य भएको प्रतिक्रिया दिएको छ।

देउवा समूहले विशेष महाधिवेशन आधिकारिक नभएको दाबी निर्वाचन आयोगमा गरेको थियो। तर आयोगले महाधिवेशनमार्फत चयन भएको नेतृत्व मान्ने हुने निर्णय गरेको छ।

आयोगले कांग्रेस विधानको व्यवस्था अनुसार ४० प्रतिशत सदस्यहरुले विशेष महाधिवेशन बोलाउन माग गरेमा उक्त व्यवस्था बाध्यात्‍मक देखिएको निचोड निकालेको छ। विशेष महाधिवेशन मागलाई दुबै पक्षले स्वीकारेको छ। साथै महाधिवेशन प्रतिनिधिलाई सर्वोच्च अधिकारप्राप्त निकायका रुपमा आयोगले स्वीकार गरेको छ।

निर्वाचन आयोग

कांग्रेसको थापा पक्षले कार्यसमिति अद्यावधिक माग गरेर बिहीबार आयोगलाई आग्रह गरेको थियो। लगत्तै शुक्रबार आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोली पुगेको थियो।

कांग्रेसको विवाद चाँडै टुंगोमा पुर्‍याउन निर्वाचन आयोग बिहीबारदेखि नै गृहकार्यमा जुटिसकेको थियो।

दुबै पक्षका नेता कार्यकर्ता शुक्रबार बिहानैदेखि आयोग कार्यालय पुगेका थिए। दुबै पक्षले कार्यालयबाहिरको सडकमा नाराबाजी समेत गरे। आयोगको निर्णयपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान प्रवक्ता प्रकाशशरण महतसहित नेताहरू निर्वाचन आयोग पुगेका थिए।

खड्काले आयोगको निर्णय नमान्ने बताए। ‘आयोगको निर्णय खारेज गर्छौं यो सेटिङ अन्तर्गत आएको छ। हामी राजनीतिक कानुनी लडाईं लड्छौं। बैठक बसेर निर्णय गर्छौं’, उनले भने।

देउवा पक्ष सर्वोच्च जाने तयारीमा छन्।

पूर्णबहादुर खड्कासहितका नेताहरु

नवनिर्वाचित सभापति थापाले भने विज्ञप्ति निकालेर कसैलाई पनि विभेद नगर्ने बताएका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन आउन चार दिन मात्र बाँकी रहेका बेला देउवा समूहले विरोध गर्ने र त्यसले निर्वाचनमा प्रभाव पर्नसक्ने देखिएको छ।

विशेष महाधिवेशनमार्फत निर्वाचित नेतृत्वलाई मान्यता दिएसँगै कांग्रेसमा केन्द्रीय कार्यालय जिल्ला कार्यालय लगायतको विवाद चर्किने संकेत देखिएको छ। तरुण दलले केन्द्रीय कार्यालय आफ्नो नियन्त्रणमा रहने बताउँदै आएको छ।

आयोगले देउवा समूहलाई अर्को दल दर्ताको लागि समय दिने बताए पनि खड्काले राजनीतिक तथा कानुनी लडाईं लड्ने र कांग्रेसको मूलधार आफू नै भएको दाबी गरिरहेका छन्।

The post गगनले आधिकारिकता पाएपछि देउवा पक्षको रणनीतिः कानुनी लडाईंसँगै सडक आन्दोलन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category