पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला?
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वबाट नेपालमा पर्न सक्ने प्रभाव र ध्यान दिनुपर्ने विषयमा विज्ञहरूले आ-आफ्ना धारणा सार्वजनिक गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापति एवं पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने दाबी गरे। “समय-समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ। यसर्थ विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,” उनले भने, “यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो। समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन।”

नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापति एवं पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरे।
अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति शृंखलामा पनि समस्या पैदा गर्ने भए पनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ। केही दिनअगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ।

वाणिज्यविद् रविशंकर सैँजू।
यसैगरी वाणिज्यविद् रविशंकर सैँजूले मध्य-पूर्व तथा पश्चिम एसियामा हाल चर्किएको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताए। “पश्चिम एसियाली मुलुकहरूमा भइरहेको द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ। वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,” सैँजूले भने, “अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ।”
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा पुन: एकपटक चुनौती थपिएको बताए। “कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी-पहिरो र अहिले इरान-इजरायल द्वन्द्वले फेरि अर्थतन्त्र प्रभावित हुने देखिन्छ,” उनले भने, “आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ।”

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेल।
उनका अनुसार २३ र २४ भदौको जेन-जी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो। बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिए पनि मध्यपूर्वको द्वन्द्वले चुनौती थपेको खरेलको भनाइ छ। यसले रेमिट्यान्स र बाह्य मुलुकमा नेपालीको रोजगारीमा समेत असर पर्न सक्ने जोखिम रहेकाले यसलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको धारणा छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा मंगलबार भएको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रियामा उनीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा वाणिज्यविद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलगायतको उपस्थिति थियो।
कार्यक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले द्वन्द्वका कारण नेपालको रोजगारी र आम्दानीमा दीर्घकालीन असर पार्नसक्ने बताइन्। “द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य र अन्य उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्थालाई समेत प्रभाव पार्नसक्ने सम्भावना देखिन्छ,” उनले भनिन्, “नेपालको पेट्रोलियम पदार्थ पूर्ण रूपले भारतसँग निर्भर छ। भारतले पनि बाह्य देशबाटै कच्चा तेल आयात गर्दछ। यसकारण हाम्रो देशमा पनि त्यसको असर पर्न सक्छ।”