कतारले ग्यास उत्पादन बन्द गर्दा विश्वभर हलचल, एसियामा पर्नेछ ठूलो असर
अमेरिका र इजरायलको आक्रमणपछि इरानले सुरु गरेको जवाफी कारबाहीले कच्चा तेलसँगै प्राकृतिक ग्यासको बिक्री वितरणमा समेत असर पर्ने भएको छ।
इरानी ड्रोन आक्रमणपछि कतार इनर्जीले आफ्नो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोकेको छ। यसले विश्वव्यापी ग्यास बजारमा दबाब सिर्जना गरेको छ।
कतारको रक्षा मन्त्रालयका अनुसार सोमबार इरानी ड्रोनहरुले दुईवटा स्थानमा आक्रमण गरेका थिए। मेसाइड औद्योगिक सहरको एउटा पावर प्लान्टको पानी ट्याङ्की र रास लाफानमा रहेको विश्वकै ठूलो ग्यास उत्पादक कम्पनी कतार इनर्जीको उर्जा केन्द्रमा आक्रमण भएको थियो।
आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। तर कतार इनर्जीले सुरक्षाका कारण प्रभावित स्थलहरुमा एलएनजी र अन्य उत्पादन स्थगित गरेको छ। यो कम्पनीले दैनिक २० लाख टन ग्यास उत्पादन गर्दै आएको थियो।
ड्रोन आक्रमण रास लाफान कम्प्लेक्स केन्द्रित थियो जहाँ निर्यातका लागि तयार पारिने तरल प्राकृतिक ग्यासको प्रशोधन इकाइ छन्। सरकारको स्वामित्वमा रहेको सो उर्जा कम्पनी हाल ‘फोर्स मेजुर’ घोषणा गर्न बाध्य भएको छ। यो यस्तो अवस्था हो जहाँ ड्रोन आक्रमण जस्ता असाधारण परिस्थितिका कारण कम्पनीले आफ्नो सम्झौतागत दायित्व पूरा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउँछ।
इरान र अमेरिकाबीच बढ्दो युद्ध र खाडी क्षेत्रमा भइरहेको मिसाइल प्रहारले रणनीतिक व्यापार मार्ग स्ट्रेट अफ हुर्मुजसमेत अवरुद्ध भइसकेको छ। इरानको रिभोलुस्नरी गार्डले सो स्ट्रेट बन्द भएको घोषणा गर्दै त्यहाँ आउने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिइसकेको छ।
एलएनजी बोकेका ट्यांकरसहित कम्तीमा १५० वटा जहाज सो क्षेत्रमा रोकिएका छन्। हर्मुजमा एलएनजी र तेल दुवैको ओसारपसार ८६ प्रतिशतले घटेको छ। त्यस्तै, करिब ७०० जहाज मार्गको दुवैतिर अलपत्र परेका छन्।
विश्व बजार सशंकित
विश्वव्यापी बजारमा कतारको एलएनजी निर्यातको हिस्सा २० प्रतिशत छ। हुर्मुज बन्द हुँदा र कतार इनर्जीले उत्पादन बन्द गर्दा आपूर्ति घटेको छ र मूल्य वृद्धि भएको छ।
थिंक ट्यांक सेन्टर फर अ न्यू अमेरिकन सेक्युरिटीका वरिष्ठ फेलो राचेल जिएम्बाले भने, ‘खाडीको ऊर्जा पूर्वाधारमा दबाब बढ्नु भनेको पक्कै पनि संकटको चरम सीमामा पुग्नु हो।’
यसबाट सबैभन्दा बढी प्रभावित हुने देशहरुमा एसियाली बजार छ। विशेष गरी बंगलादेश, भारत र पाकिस्तान प्रभावित हुनेछन्। भारत प्रभावित हुने बित्तिकै त्यसको असर स्वाभाविकरुपमा नेपालमा पनि पर्नेछ।
स्ट्यानफोर्ड विश्वविद्यालयका ऊर्जा विज्ञ म्याक्सिम सोनिन कतार इनर्जीको निर्णयले बजारमा अस्थिरता ल्याए पनि यसलाई अहिल्यै संकट भन्न नमिल्ने बताउँछन्। उनले भने, ‘हामीले छोटो अवधिको अस्थिरता देख्नेछौं। तर मलाई लाग्दैन कि २०२२ को युरोपेली ग्यास संकट फेरि दोहोरिनेछ।’
को हो ठूलो निर्यातकर्ता?
२०२२ सम्म रसिया विश्वको सबैभन्दा ठूलो एलएनजी निर्यातकर्ता थियो। तर युक्रेनसँगको युद्धपछि यसको बिक्री ह्वात्तै घट्न पुग्यो।
हाल अमेरिका विश्वको सबैभन्दा ठूलो एलएनजी निर्यातकर्ता हो। त्यसपछि कतार र अष्ट्रेलियाले धेरै एलएनजी निर्यात गर्छन्।
कतार इनर्जीको ८२ प्रतिशत बिक्री एसियाली देशहरुमा हुने गर्छ। यद्यपि, यसको असर युरोप लगायत विश्वका अन्य बजारहरुमा पनि हुनेछ।
थोरै आपूर्तिले नै विश्वव्यापी माग धान्नुपर्ने अवस्था सिर्जना हुँदा अहिले नै ग्यासको मूल्य बढ्न थालिसकेको छ।
कतार इनर्जीको घोषणापछि सोमबार बेन्चमार्क डच र बेलायती ग्यासको मूल्य करिब ५० प्रतिशतले र एशियाली एलएनजीको मूल्य ३९ प्रतिशतले बढिसकेको छ।
कतारले लामो समयसम्म उत्पादन बन्द राख्ने हो भने त्यो विश्व अर्थतन्त्रकै लागि राम्रो नहुने विज्ञहरु बताउँछन्।
The post कतारले ग्यास उत्पादन बन्द गर्दा विश्वभर हलचल, एसियामा पर्नेछ ठूलो असर appeared first on BIZMANDU.