PalikaNews
कार्यवाहक प्रमुख डंगोल र युजिन नगरका प्रमुख नडसन बिच भेटघाट, दुई नगरबीचको भगिनी सम्बन्धलाई अझै मजबुत बनाउने छलफल
काठमाडों – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र अमेरिकाको ओरेगन राज्यस्थित युजिन नगरकी प्रमुख कारिन नडसनबीच भेटवार्ता भएको छ । कार्यवाहक प्रमुख डङ्गोलको कार्यकक्षमा भएको भेटमा दुई नगरबीचको भगिनी सम्बन्धको विगत समीक्षा गर्दै नागरिक स्तरमा सम्बन्धलाई अझ मजबुत बनाउने सम्भावित कार्यक्रमबारे छलफल भएको हो ।
भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले भगिनी सम्बन्धलाई औपचारिकतामा सीमित नराखी नागरिकले अनुभूति गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने बताए । प्रमुख नडसनले काठमाडौँले सञ्चालन गरेको ‘पुस्तकरहित शुक्रबार’ (बुक फ्री फ्राइडे) कार्यक्रमबाट आफू प्रभावित भएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक पहलले नगरबीच सहकार्यको आधार बलियो बनाउने धारणा राखे ।
छलफलका क्रममा दुवै नगरका नागरिकबीच आपसी तथा पारस्परिक सहयोग प्रवद्र्धन गर्ने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा गतिविधि आदानप्रदान गर्ने विषयमा विचार विमर्श भएको थियो ।
काठमाडौँ महानगरपालिकाको हाल अन्तरराष्ट्रिय १६ नगरसँग भगिनी सम्बन्ध रहेको छ। अमेरिकाका बोल्डर, फेडरिक्सबर्ग, युजिन र रोचेष्टरसँग भगिनी सम्बन्ध कायम छ । युजिनसँग सन् १९७५ मा सम्बन्ध स्थापना भएको थियो भने सबैभन्दा पछिल्लो सम्बन्ध बोल्डरसँग विसं २०७६ वैशाख २९ (सन् २०१९ मे १२) मा स्थापना भएको हो ।
संख्याका आधारमा चीनका नगरहरूसँग सबैभन्दा बढी भगिनी सम्बन्ध रहेको छ । चीनका सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, बेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिडसँग पनि महानगरपालिकाको भगिनी सम्बन्ध कायम रहेको छ ।