३३ किलो सुन काण्ड संलग्न ‘गोरे’ समुहका सुरेन्द्र गौतम ८ वर्षपछि पक्राउ
काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम अन्ततः प्रहरीको फन्दामा परेका छन्। चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको तस्करी समूहका सक्रिय सदस्य गौतमलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ का ३५ वर्षीय गौतम २०७५ सालदेखि फरार थिए। उनीविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र ज्यानसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतमा अभियोगपत्र दायर भइसकेको थियो। अभियोगपत्रमा उनी चौथो नम्बरका प्रतिवादीका रूपमा उल्लेख छन्।
प्रहरी अनुसन्धान अनुसार गौतम सुन हराएको आरोपमा गोरे समूहले सनम शाक्यलाई नियन्त्रणमा लिएर यातना दिने कार्यमा प्रत्यक्ष संलग्न थिए। सनमको हत्या हुँदा उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको ‘निर्भाना कन्ट्री क्लब’मा गोरेसँगै रहेको खुलेको छ । हत्या पश्चात शव गाड्न खाल्डो खन्ने कार्यमा समेत उनी सहभागी रहेको प्रहरीको निष्कर्ष छ ।
अर्का प्रतिवादी मोहन काफ्लेको बयानमा गौतमले सनमलाई हातखुट्टा बाँधेको र त्यसपछि गोरेले निर्घात कुटपिट तथा यातना दिएको उल्लेख छ । प्रहरी प्रतिवेदनमा गोरेको निर्देशनअनुसार गौतमले ‘दण्ड र सजाय’ दिने भूमिकामा काम गरेको जनाइएको छ ।
३३ किलो सुन प्रकरण २०७४ माघ ९ मा फ्लाई दुबईको विमानमार्फत त्रिभुवन विमानस्थल आइपुगेको सुन हराएपछि सतहमा आएको थियो। सुन पुरानो बानेश्वर पु¥याउने जिम्मा लिएका सानु बनको रहस्यमय मृत्यु र त्यसपछि सनम शाक्यको हत्या भएपछि यो प्रकरणले राष्ट्रिय तहमा तरंग ल्याएको थियो।
प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएका छन्। सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले करिब दुई महिना लामो अनुसन्धानपछि सुन तस्करी र सनम शाक्य हत्याबारे विस्तृत प्रतिवेदन सरकारलाई बुझाएको थियो।
फरार अभियुक्त पक्राउ परेपछि बाँकी मुद्दा टुंग्याउने प्रक्रिया थप अघि बढ्ने प्रहरीले बताएको छ ।