npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

खाडी मुलुकमा बमबारीले नेपालको अर्थतन्त्र प्रभावित हुने, राष्ट्र बैंकले देख्यो यी चुनौती

Basudev Timalsina 3 hours ago

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले खाडी मुलुकको तनावका कारण नेपालको अर्थतन्त्रमा फेरी चुनौती थपिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा उनले अहिलेको तनावले रेमिटेन्समा बढी असर गर्ने बताए।

राष्ट्र बैंकका अनुसार खाडी क्षेत्रका १५ देशबाट नेपालमा रेमिटेन्स भित्रिने गरेको छ। ‘अहिलेको द्वन्द्व तत्काल समाधान नभएमा रेमिटेन्स नराम्रोसँग प्रभावित हुने देखिन्छ,’ खरेलले भने।

उनका अनुसार नेपालमा भित्रिने रेमिटेन्सको ३५ प्रतिशत खाडी क्षेत्रका ४ देशबाट आउने गरेको छ।

खरेलले खाडी मुलुकको तनावले पर्यटन क्षेत्रमा पनि असर गर्ने बताए। खाडी मुलुकबाट नेपालमा धेरै पर्यटक आउँदैनन्। तर ती देशलाई ट्रान्जिट बनाएर आउनेको संख्या ठूलो भएकाले पर्यटन क्षेत्र पनि प्रभावित हुन्छ,’ उनले भने।

अहिलेको द्वन्द्वले इन्धनको मूल्य बढी त्यसको असर उत्पादन लागत बढेर बजार महँगिने खरेलको भनाइ छ।

उनले बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा खाडी मुलुकको द्वन्द्वले चुनौती थपेको बताए।

‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरानको द्वन्द्वले अर्थतन्त्र फेरी प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले चुनौती थपेको छ।’

The post खाडी मुलुकमा बमबारीले नेपालको अर्थतन्त्र प्रभावित हुने, राष्ट्र बैंकले देख्यो यी चुनौती appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category