Sutra News
५० वर्षीय निर्देशक राजसँग सामन्थाले गरिन् दोस्रो विवाह
एजेन्सी । एक्ट्रेस सामन्था रूथ प्रभुले सोमबार ‘द फैमिली म्यान’का प्रोड्युसर–डायरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छन्। यो जोडीको विवाह कोयम्बटूरको ईशा योग सेन्टरस्थित लिंग भैरवी मन्दिरमा सम्पन्न भएको हो।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, अभिनेत्रीका नजिकका स्रोतले सामंथा र राजको विवाहको जानकारी पुष्टि गरेका छन्।
रिपोर्टका अनुसार, सामंथाले विवाहमा रातो सारी लगाइकी थिइन्। यो एक अत्यन्तै अन्तरङ्ग विवाह समारोह थियो, जसमा करिब ३० जना मात्र आफन्त र नजिकका साथी सहभागी थिए। हालसम्म सामंथा र राज दुबैको तर्फबाट विवाहबारे कुनै आधिकारिक घोषणा गरिएको छैन।
राज निदिमोरूकी पूर्व पत्नीको क्रिप्टिक पोस्ट
आइतबार साँझ सामंथा र राजको सगाईंको खबर सार्वजनिक भएपछि राजकी पूर्व पत्नी श्यामली डेले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्ट शेयर गरेकी हुन्। आफ्नै अफिसियल इन्स्टाग्राम स्टोरीमा उनले लेखिन्, ‘उतावला मानिस उतावलै काम गर्छ।’
सामंथा र राजको डेटिङका खबरहरू धेरै महिनादेखि चर्चामा थिए। दुबै द फैमिली म्यानको दोस्रो सीजनमा सँगै काम गरेका थिए। ‘द फैमिली म्यान २’ २९ डिसेम्बर २०२० मा रिलिज भएको थियो।
त्यसपछि सामंथा र राजलाई धेरै पटक सँगै देखिएको थियो। केही समयअघि सामंथाले राजलाई अँगालो हालेर खिचिएको तस्बिर शेयर गर्दै सम्बन्धको संकेत पनि दिएकी थिइन्। यद्यपि दुबैले आफ्नो रिलेसनसिपलाई कहिल्यै आधिकारिक रूपमा सार्वजनिक गरेका थिएनन्।
राज निदिमोरू को हुन्?
५० वर्षीय राज निदिमोरू फिल्ममेकर हुन्। उनी र डीके (कृष्णा दसराकोठापल्ली) को जोडी फिल्म उद्योगमा निकै चर्चित छ। दुबैले यूकेबाट सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेपछि २००२ को फिल्म शादी डट कम बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए।
सन् २००३ देखि दुबैले स्वतन्त्र फिल्ममेकरका रूपमा ९९ फिल्म लेखे, निर्माण गरे र निर्देशन पनि गरे। त्यसपछि उनीहरूले शोर इन द सिटी, गो गोवा गोन, ह्याप्पी एन्डिङ, ए जेन्टलम्यान जस्ता फिल्म लेख्नुका साथै निर्देशन पनि गरे।
२०१९ मा राज र डीकेले ओटीटी प्लेटफर्ममा पाइला चाले र मनोज बाजपेयी स्टारर द फैमिली म्यान निर्देशन–निर्माण गरे। त्यसपछि उनीहरूले फर्जी, सिटाडेल र गन्स एन्ड गुलाब्स जस्ता सिरिज बनाए। राज–डीकेको जोडीले श्रद्धा कपूर र राजकुमार राव स्टारर स्त्री फिल्म पनि लेखी र प्रोड्युस गरेका छन्।
राज निदिमोरूले सन् २०१५ मा श्यामली डेसँग विवाह गरेका थिए, तर २०२२ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो।
२०२२ मा सामंथाले नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन्
सामंथा रुथ प्रभू र नागा चैतन्य ये माया चेसावे फिल्ममा सँगै देखिएका थिए। यही फिल्मको सेटमा दुबै एक–अर्कालाई मन पराउन थाले र रिलेसनसिपमा आए। करिब सात वर्षसम्म सम्बन्धमा बसेपछि सामंथाले साउथ स्टार नागा चैतन्यसँग २०१७ मा विवाह गरेकी थिइन्। विवाह हिन्दू र क्रिश्चियन दुवै विधिबाट सम्पन्न भएको थियो।
विवाहपछि सामंथाले आफ्नो थर अक्किनेनी गरेकी थिइन्। तर जुलाई २०२१ मा उनले फेरि आफ्नो नाम बदल्दै सामंथा अक्किनेनी बाट सामंथा रुथ प्रभू बनाइन्। यतिबाटै उनीहरूको सम्बन्धमा दरार परेको संकेत देखिन थाल्यो र अन्ततः अक्टोबर २०२१ मा दुबैले सम्बन्ध विच्छेदको घोषणा गरे।
सामंथासँग सम्बन्ध विच्छेद भएको दुई वर्षपछि नागा चैतन्यले अभिनेत्री शोभिता धूलिपालासँग विवाह गरेका छन्।