npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

भिरकाटे–दोवा सडक स्तरोन्नति लक्ष्यअघि नै सम्पन्न

पालिका ब्यूरो 2 days ago

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको उक्त योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवासँग रु ६५ लाखमा ठेक्का सम्झौता भएको थियो। आगामी चैतसम्म म्याद रहेको योजना सम्झौतापछि पुसदेखि नै काम थालिएको र दुई महिनामै सम्पन्न गरिएको वडासदस्य बिर्खबहादुर गर्बुजाले जानकारी दिए ।

बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो भागमा सडक स्तरोन्नति गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टका अनुसार हाल तीनदेखि चार मिटर फराकिलो रहेको सडकलाई छ मिटरको दरले फराकिलो बनाइएको छ । साथै नाली र पर्खाल निर्माण, ३४० मिटर सडक ढलान तथा ६० मिटर ग्राभेल गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापनका कारण लक्ष्यभन्दा अगावै योजना सम्पन्न गर्न सफल भएको बताए ।

यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो । विसं २०६६ मा स्थानीयवासीले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको ट्र्याक खोलेका थिए। तत्कालीन जिल्ला विकास समितिको रु १० लाख अनुदान तथा गाउँले, पोखरा, काठमाडौँ र विदेशमा बस्ने दोबावासीको रु ९१ लाख सहयोगबाट सडक निर्माण गरिएको वडासदस्य गर्बुजाले बताए ।

मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्र्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो तथा ग्रेड र घुम्ती नमिलेको सडकलाई यसपटक स्तरोन्नति गरिएको हो । भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्र्याक खुलेको यस सडकमा यस वर्ष हालसम्मकै बढी बजेट विनियोजन भएको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेटबाट मारका क्षेत्रमा स्तरोन्नति गरेको थियो भने चालु आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरी योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका करिब तीन सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भिरकाटे–दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर आगामी वर्ष पनि बजेटमा निरन्तरता दिने तथा सङ्घीय र प्रदेश सरकारसँग थप बजेट माग गरिएको बताए ।

Read more news from PalikaNews

Explore by Source or Category