PalikaNews
काँकरभिट्टाबाट फलफूल आयातमा वृद्धि, चार महिनामा रु ४० करोड नाघ्यो
काठमाडौं – पूर्वीनाका काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। सो अवधिमा स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल आयात भएका हुन् ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को समान अवधिमा सो नाकाबाट रु २१ करोड ३५ लाख ५० हजार बराबरको फलफूल आयात भएको थियो। यस अनुसार, चालु वर्षमा रु १९ करोड ८९ लाख ५ हजार बढी फलफूल आयात भएको देखिन्छ ।
नेपालले फलफूल भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट आयात गर्ने गर्दछ । काँकरभिट्टा नाकाबाट आयात हुने मुख्य १० वस्तुमा फलफूल पाँचौँ स्थानमा रहेको छ ।
सूचना अधिकारी हुमागाईंका अनुसार, चालु आवको कात्तिक महिनामा भन्सारले रु १ अर्ब ६३ करोड ९४ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो, तर रु १ अर्ब ३० करोड ८१ लाख ८९ हजार मात्रै सङ्कलन भएको छ ।