सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक निरजको अग्रता
काठमाडौँ। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन अग्रता बनाएका छन्। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका हुन्।
उनीभन्दा ३ स्ट्रोकले पछि रहँदै ३-अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्। १-अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। यस्तै इभन-पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।
एमेच्योरतर्फ राहुल र प्रकृत १-अन्डर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। राम तामाङ १-ओभर ७१ सहित तेस्रो स्थानमा रहे। राहुल पहिलो प्रतियोगिता सेन्ट्रल ओपनका च्याम्पियन हुन्।
तीन दिनसम्म चल्ने ५४ होलको यो प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष १८ स्थान सम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन्। ३६ होलको खेलपछि कट लागु हुनेछ। जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन्।
यो सिजनको समग्र पुरस्कार राशि भने ८० लाख रुपैयाँ रहेको छ।
The post सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक निरजको अग्रता appeared first on BIZMANDU.