npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

मेलम्चीमा मोतियाविन्दु शल्यक्रियाबाट ८४ जनाले पाए आँखाको ज्योति

पालिका ब्यूरो 6 days ago

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जना बिरामीले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।

मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो ।

शल्यक्रिया सफल भएपछि बिरामीहरू खुसी भएका छन् । उनीहरूले लामो समयदेखि भोग्दै आएको आँखाको समस्या समाधान भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको परीक्षण तथा शल्यक्रिया गरिएको थियो ।

उक्त शिविर तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको संयुक्त आयोजनामा तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा सम्पन्न भएको हो ।

आयोजक संस्थाहरूले यस्ता निःशुल्क शल्यक्रिया शिविर ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको दृष्टि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

Read more news from PalikaNews

Explore by Source or Category