खाडी मुलुकमा बमबारीको बाछिटा नेपालमा, आयात निर्यात व्यापारमा देखिनेछ असर
काठमाडौं। अमेरिका र इजरायलले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले खाडी मुलुकलाई निशाना बनाएपछि त्यसको बाछिटा नेपालको वैदेशिक व्यापारमा पर्ने भएको छ। खाडी मुलुकमा इरानले गरेको बमबारीको असर नेपालको आयात निर्यात व्यापारमा पर्ने भएको हो।
खाडी मुलुकबाट नेपालमा सुन, चाँदी, बहुमूल्य मोती, स्टोनका गहना, मोबाइल फोन, हवाईजहाजका पार्टपूर्जा, मेडिकल, कस्मेटिक र इलेक्ट्रोनिक सामान लगायत वस्तु आयात गर्ने गरिएकामा फागुन १५ देखि हवाई उडान बन्द भएका कारण प्रभावित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेश रत्न शाक्यले खाडी क्षेत्रको तनावले सुनचाँदी अन्य देशबाट आयात गर्नुपर्ने अवस्था निम्तिएको बताए।
‘नेपालमा यसअघि दुबईबाट सुन चाँदी आयात हुने गरेको थियो। तर पछिल्लो तनावले त्यहाँबाट ल्याउन सक्ने अवस्था छैन। किनभने उडान नै बन्द छ,’ शाक्यले भने, ‘त्यहाँ इरानको आक्रमण नरोकिएको अवस्थामा टर्की ए, हङकङ, इन्डोनेसिया र सिंगापुरबाट आयात गर्नुपर्ने हुन्छ।’
व्यवसायीहरुका अनुसार दुबई बाहेकका सहरबाट सुन चाँदी आयात गर्दा ढुवानी र प्रिमियम चार्ज बढी लाग्छ।
दुबईबाट सुन, तामाको तार, चाँदी, बिटुमिन, गहना, मोबाइल फोन लगायत आयात गर्ने गरिएको छ। यस्तै
बहुमूल्य मोती, स्टोन, प्लाष्टिकका सामान, खनिज इन्धन, विद्युतीय सामान कतारबाट ल्याउने गरेको भन्सारको विवरणबाट देखिन्छ।
यसबाहेक कस्मेटिक सामान, बदाम, सिसाका सामान, उद्योगमा प्रयोग हुने पेट्रोलियम कोक, पर्फ्युम, जहाजका पार्टपूर्जा, मेडिकल सामान, ग्यास टर्वाइन्स, नन अल्कोहोलिक ड्रिंक्स लगायत वस्तु खाडी मुलुकबाट भित्र्याउने गरेको देखिन्छ।
नेपालबाट खाडी मुलुकमा हस्तकलाका सामान, सल, स्कार्फ, ऊनको कार्पेट, रेडिमेड गार्मेन्ट्स, कृषि उत्पादन, चिया, मसला लगायत वस्तु निर्यात गर्ने गरिएको छ।
तर खाडी मुलुकमा इरानी आक्रमणपछि आयात निर्यात व्यापारमा असर परेको छ। खाडी मुलुकमध्ये पनि संयुक्त अरब इमिरेट्स (यूएई) सँगको नेपालको व्यापार सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।
यस्तो छ खाडी मुलुकसँग नेपालको व्यापार
चालु आर्थिक वर्ष ७ महिनामा नेपालले यूएईबाट ४१ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ। यस्तै नेपालबाट यूएईमा १ अर्ब २२ करोड रुपैयाँको वस्तु निर्यात गरेको तथ्यांक छ।
सात महिनामा साउदी अरेबियाबाट नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यस्तै नेपालबाट साउदी अरेबियामा २० करोड रुपैयाँको वस्तु निर्यात गरिएको छ।
कतारबाट ३ अर्ब ३४ करोड रुपैयाँको सामान आयात गरेको र त्यहाँ ७ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ।
ओमन, बहराइन, कुवेत र जोर्डनसँग पनि नेपालले व्यापार गर्ने गरेको छ। चालु वर्ष सात महिनामा ओमनबाट ३४ करोड ९४ लाख रुपैयाँको सामान आयात गरेको र त्यहाँ ६ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकबाट देखिन्छ।
यस्तै बहराइनबाट २६ करोड रुपैयाँको वस्तु आयात गरी त्यहाँ ७७ लाख रुपैयाँको सामान निर्यात गरिएको छ। कुवेतबाट सात महिनामा ७ करोड ६९ लाख रुपैयाँको सामान आयात गरी त्यहाँ ४ करोड ८६ लाख रुपैयाँको सामान पठाएको तथ्यांक छ।
जोर्डनबाट नेपालले ३ करोड १९ लाख रुपैयाँको सामान आयात गरेको छ।
एक वर्षको आयात निर्यात
गत आर्थिक वर्ष २०८१/८२ मा ९ खाडी मुलुकबाट नेपालमा ४३ अर्ब १८ करोड रुपैयाँको आयात भएको तथ्यांक छ। त्यसमध्ये सबैभन्दा धेरै यूएईबाट आयात भएको हो।
यूएईबाट पोहोर २५ अर्ब ३३ करोडको सामान आयात भएको थियो। यस्तै कतारबाट ९ अर्ब १४ करोड, ओमनबाट २ अर्ब ७२ करोड र बहराइनबाट २ अर्ब ४९ करोड रुपैयाँको सामान आयात भएको तथ्यांक छ।
गत वर्ष यूएईमा करिब ३ अर्ब, कतारमा ११ करोड र बहराइमा २ करोड रुपैयाँको वस्तु निर्यात गरिएको थियो।
The post खाडी मुलुकमा बमबारीको बाछिटा नेपालमा, आयात निर्यात व्यापारमा देखिनेछ असर appeared first on BIZMANDU.