कसैको शिर झुक्न दिने छैन,काँग्रेसको गरिमा कहिल्यै घट्ने छैन : सभापति गगन थापा
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। मध्यराति काठमाडौंको भृकुटीमण्डपमा घोषणा गरिएको नतिजापछि सम्बोधन गर्दै थापाले कांग्रेसको गरिमा जोगाउने दृढ प्रतिबद्धता व्यक्त गरे।
सभापतिमा चयन भएपछि भावुक हुँदै थापाले भने, “नेपाली कांग्रेसको सभापतिको नाम उच्चारण गर्दा नै गर्वले छाती फराकिलो हुन्छ। यो सामान्य जिम्मेवारी होइन। जुन विश्वासका साथ यो जिम्मेवारी मलाई सुम्पिनु भएको छ, त्यसले कसैको पनि शिर झुक्न दिने छैन। म कांग्रेसको शान जोगाएर अघि बढ्छु।”
थापाले विशेष महाधिवेशन रहरले नभई बाध्यताले गर्नुपरेको स्पष्ट पारे। देश र पार्टी दुवै कठिन अवस्थाबाट गुज्रिरहेको बेला यो निर्णय लिनुपरेको उनले बताए।
“यो कसैको चाहना थिएन। बाध्यताले हामी यहाँ आइपुगेका हौँ। तर यो जोखिम उठाउनैपथ्र्यो,” थापाले भने, “मैले भन्दा पनि तल तहमा बसेर काम गर्ने साथीहरूले ठूलो जोखिम उठाउनुभएको छ।”
नवनिर्वाचित सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापना आफ्नो प्रमुख कार्यभार हुने संकेत पनि गरे।