npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

डिजिटल हिंसामा मधेसका महिला

वीरेन्द्र रमण 4 hours ago

कक्षा ८ देखिका सहपाठी धनुषाको औरही गाउँपालिका-१ का सन्तोषकुमार महरा र एक २० वर्षीया युवतीबीच जनकपुरको शिवचोकमा रहेको होटलमा शारीरिक सम्पर्क हुन्छ। उनीहरूले आफ्नो यौनजन्य गतिविधिको फोटो र भिडिओसमेत बनाउँछन्।

तर, प्रेमको प्रलोभनमा परेर फोटो-भिडिओ बनाउन राजी भएकी युवतीलाई तिनै फोटो-भिडिओ गलपासो बनिदिन्छ। महराले भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै उनलाई पटक पटक बोलाएर शारीरिक सम्पर्क गर्न थाल्छन्। तर, एकदिन युवती महराले बोलाएको ठाउँमा पुग्दिनन्। यसपछि क्रुद्ध युवकले युवतीका बुवा र दाइलाई ती अन्तरंग भिडिओ पठाइदिन्छन्।

०००

झापाकी एक १८ वर्षीया किशोरी र जनकपुरका १७ वर्षीय किशोरबीच फेसबुकमार्फत चिनजान हुन्छ। केही महिनाको कुराकानीपछि दुवै एकअर्काको प्रेममा पर्छन्। ती किशोरले काम लगाइदिने भन्दै किशोरीलाई जनकपुर बोलाउँछन् र जनकपुरधाम उपमहानगरपालिका-१२ पेठिया बजारमा रहेको एक होटलमा राख्छन्। होटलमा उनीहरूबीच शारीरिक सम्बन्ध हुन्छ। तर, दुईतीन दिनपछि ती किशोरले अर्का युवकलाई होटलमा ल्याउँछन् र ती किशोरीलाई यौनसम्बन्ध राख्न दबाब दिन्छन्। बिस्तारै एकपछि अर्को केटाहरू आउन थालेपछि ती युवती भागेर प्रहरीकहाँ पुग्छिन्।

०००

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-१ पर्सा टोलका विमलेश यादव महोत्तरी बलवा नगरपालिका-७ की एक युवतीसँग विवाहेतर सम्बन्धमा हुन्छन्। सुरुमा अनभिज्ञ रहेकी ती युवती पछि टाढिन खोज्दा उनीहरूबीच विवाद हुन्छ र फेसबुकमार्फत यादव उनलाई यातना दिन थाल्छन्। एकदिन त यादवले ती युवतीको अर्धनग्न तस्बिर नै फेसबुकमा राखिदिन्छन्।

यसपछि ती युवती उक्त तस्बिर डिलिट गरे आफू भेट्न आउने भन्दै यादवलाई फकाउँछिन्। यसपछि उनीहरू जनकपुरको एक होटलमा भेट्छन्। सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने सहमति हुन्छ। तर, मादक पदार्थको नशामा लट्ठ यादवलाई युवतीले बदला लिने सोच्छिन् र छुरा प्रहार गर्न थाल्छिन्। यसपछि भाग्न खोज्दा युवतीले उनलाई धकेल्छिन् र लडाएर भाग्छिन्। छुरा प्रहार र लडेर घाइते भएका विमलेशको मृत्यु हुन्छ।

०००

डिजिटल हिंसाले निम्त्याएका यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। मधेसमा केही वर्षयता डिजिटल हिंसा र यसले निम्त्याएको अपराधको ग्राफ बढिरहेको छ।

सुरुमा रमाइलोका लागि कैद गरिएका अन्तरंग तस्बिर तथा भिडिओहरू सम्बन्धमा तिक्तता आएपछि हिंसाको हतियार बन्ने गरेका छन्। सामाजिक लोकलाजका कारण आफूलाई भएको हिंसाबारे उजुरी नगर्ने महिलाहरूको संख्या पनि मधेसमा उत्तिकै छ।

मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्युतीय माध्यमबाट भएका कसुरमा ११ सय निवेदन र ५६ वटा मुद्दा दर्ता भएका थिए। यस अवधिमा ८१६ जना पीडित भएका थिए।

आव २०८१/८२ मा भएको विद्युतीय हिंसामा मुद्दा दर्ताको तथ्यांक

यस्तै, चालु आर्थिक वर्षको कात्तिकसम्म २१ वटा मुद्दा र ४०४ वटा निवेदन दर्ता भएका छन्। जसमा सामाजिक सञ्जालका कारण ४०५ जना पीडित हुँदा तीमध्ये १०७ जना १८ वर्षभन्दा कम उमेर समूहका छन्।

प्रहरीका अनुसार कात्तिकसम्म सप्तरीमा सबैभन्दा बढी ११६ वटा निवेदन तथा मुद्दा दर्ता भएका छन्। पर्सामा १०६, सिरहामा ६७, धनुषामा ६५, सर्लाहीमा ५७, महोत्तरीमा नौ, रौतहटमा तीन तथा बारामा दुई वटा निवेदन तथा मुद्दा दर्ता भएका छन्।

चालु आर्थिक वर्षको कात्तिकसम्मको निवेदन दर्ता तथ्यांक

सामाजिक सञ्जालअनुसार टिकटकसम्बन्धी सबैभन्दा बढी २३१ वटा निवेदन तथा मुद्दा दर्ता भएका छन्। फेसबुक तथा मेसेन्जरसम्बन्धी १११, ह्वाट्सएपसम्बन्धी ११, इन्स्टाग्रामसम्बन्धी दुई, इमेलसम्बन्धी आठ, इसेवा/खल्ती/मोबाइल ब्यांकिङसम्बन्धी ४८ र अरू विविध माध्यमसम्बन्धी १४ वटा निवेदन तथा मुद्दा दर्ता भएका छन्।

डिजिटल हिंसाबाट महिला नै बढी पीडित

अधिवक्ता राजकुमार महासेठ डिजिटल दुनियाँमा सहज पहुँच भइरहेकाले सानो असमझदारी पनि अपराधउन्मुख भइरहेको बताउँछन्। यस्तै मानवअधिकारकर्मी राजु पासमान यौनजन्य गतिविधिको ‘डिजिटल फुटप्रिन्ट’ कै कारण धेरै युवायुवती मानसिक तथा कानुनी समस्यामा फस्ने गरेको जिकिर गर्छन्।

डिजिटल हिंसाबाट धेरैजसो महिलाहरू नै पीडित हुने गरेका छन्। अधिवक्ता एवं मानवअधिकारकर्मी रेखा झा महिलाहरू बढी भावनात्मक हुने भएकाले उनीहरू सहजै हिंसामा पर्ने गरेको बताउँछिन्। उनी भन्छिन्, “महिलाहरू पुरुषप्रति सजिलै विश्वास गर्ने र पुरुषले आफ्नो स्वार्थ पूरा भएपछि छाड्ने कारणले महिलाहरू हिंसाको सिकार बढी हुने गरेका छन्।”

अधिवक्ता राहुल झाका अनुसार मुद्दा दर्ता हुँदा फरक फरक अपराध देखिए पनि धेरैजसो घटनाको प्रस्थानबिन्दु भने डिजिटल हिंसा नै हो। “ठगी होस्, मानव बेचबिखन होस् वा अरू, धेरैजसो मुद्दामा पहिलो चिनजान सामाजिक सञ्जालमा हुने गरेको छ। यौनजन्य गतिविधिसँग जोडिएको मुद्दामा भने डिजिटलसँग जोडिएर पछि अपराध फरक फरक रूपमा आउने गरेको छ,” उनले भने।

अधिवक्ता झा महिलालाई हुने डिजिटल हिंसा निकै भयावह देखिएकाले स्थानीय तहले जनचेतनामूलक अभियान चलाउनुपर्ने सुझाव दिन्छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया सामाजिक सञ्जाल चलाउँदा अपनाउनुपर्ने सचेतनाको अभावले डिजिटल अपराध बढेको बताउँछन्।

डिजिटल अपराध गरेको खण्डमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुन्छ। सो ऐनको दफा ४७ र ४८ अनुसार विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा घृणा तथा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीच खलल पार्ने सामग्री प्रकाशन वा प्रदर्शन गरेमा अथवा महिलालक्षित अमर्यादित कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

Read more news from नेपाल न्युज

Explore by Source or Category