npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

इजरायल-इरान तनाव : उडान प्रभावित: सयौँ यात्रु अलपत्र

Saral Patrika 1 day ago

काठमाडौँ । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावको प्रत्यक्ष असर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। इजरायल र इरानबीच सुरु भएको आक्रमण–प्रत्याक्रमणका कारण हवाई मार्गहरू बन्द भएपछि कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरब लगायतका गन्तव्यको उडान प्रभावित भएका छन्।

शनिबारदेखि नै उडान रद्द हुँदा विमानस्थलमा सयौँ यात्रु अलपत्र परेका छन् भने आइतबार बिहानसम्म पनि उडान नियमित हुने निश्चित नहुँदा यात्रुहरू अन्योलमा छन्।

विमानस्थलमा अलपत्र परेका सिराहाका परमेश्वर शाहले आफ्नो पीडा सुनाउँदै भने, “शनिबार राति कतार जानुपर्ने थियो, उडान स्थगित भयो। अब यहाँ बस्ने पैसा छैन र घर फर्किने उपाय पनि छैन। सरकारले हामीलाई सहयोग गर्नुपर्छ।”

धेरै यात्रुहरू एयरलाइन्सले वैकल्पिक व्यवस्था नगरेका कारण महँगो होटलमा बस्न वा टिकट पुनः निर्धारणको पर्खाइमा विमानस्थलमै बस्न बाध्य छन्।

सरकारी तथ्याङ्क अनुसार खाडीका प्रमुख छ मुलुकमा १७ लाखभन्दा बढी नेपाली कार्यरत छन्। जसमा यूएईमा ६ लाख, कतारमा ५ लाख र साउदी अरबमा साढे ४ लाख नेपाली रहेका छन्।

त्रिभुवन विमानस्थलबाट दैनिक करिब १ हजार ५ सय युवा रोजगारीका लागि पश्चिम एसियातर्फ प्रस्थान गर्ने गरेका छन्। उडान ठप्प हुँदा ती युवा र उनीहरूमा आश्रित हजारौँ परिवारको आयस्रोतमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

बढ्दो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले इजरायल, इरान र पश्चिम एसियामा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र अवस्था सामान्य नभएसम्म ती देशहरूको भ्रमण स्थगित गर्न सिफारिस गरेको छ।

आबुधाबी र दोहास्थित नेपाली दूतावासहरूले पनि त्यहाँ रहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन र पूर्व अनुमति बिना यात्रा नगर्न अपिल गरेका छन्।

Read more news from Saral patrika

Explore by Source or Category