npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

चन्द्रग्रहणः कुन राशिलाई कस्तो फल ?

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज दिउँसो ३ः३४ मिनेटमा चन्द्रग्रहणले स्पर्श गरेको समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने समितिले जनाएको छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को दोस्रो ग्रहण हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र हुने, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी हुने, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । आज बिहान ०९ः०३ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

विशेष उपकरण बिना नै हेर्न सकिन्छ चन्द्रग्रहण

विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।

नेपालमा आज चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिन्छ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिन्छ । चन्द्रोदयसँगै नेपालमा सुरू हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले सुनाए ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ । सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब पाँच डिग्रीको कोण बनाएको हुन्छ । त्यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई विन्दुमा काटेको हुन्छ । यी दुई विन्दुहरूलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।

कुन राशिलाई कस्तो फल छ ?

मेष राशिलाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीप्राप्ति, कर्कट क्षति, सिंह घात, कन्या व्यय, तुला लाभ, वृश्चिक सुख, धनु माननाश, मकर कष्ट, कुम्भ स्त्रीपीडा र मीन सुख फल पाइने समितिले जनाएको छ । आजको ग्रहण मिथुन, वृश्चिक र मीन राशिकालाई शुभ छ । बाँकी राशिलाई राम्रो फल नभएको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category