npl.977 Nepal News Stream

Taksar News logo Taksar News

‘सेभेन समिट’ पूरा गरेका कीर्तिमानी आरोही हरि बुढामगर भोलि स्वदेश फर्किँदै

टक्सार न्युज 1 day ago

काठमाडौँ । कीर्तिमानी आरोही हरि बुढामगर ‘सेभेन समिट’ अभियान सफलतापूर्वक पूरा गरी माघ १ गते (भोलि) नेपाल फर्किने भएका छन्। सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य पूरा गरेपछि उनी अन्टार्कटिकाबाट नेपाल आउन लागेका हुन्।

अन्टार्कटिका महादेशको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) सफलतापूर्वक आरोहण गरेसँगै बुढामगरले सेभेन समिटको सपना साकार पारेका हुन्। उनको टोली सन् २०२६ जनवरी ६ तारिख राति २२ः०० बजे माउन्ट भिन्सनको शिखरमा पुगेको थियो। यससँगै पूर्व गोर्खा सैनिक बुढामगरले विश्वका सातै उच्च शिखर आरोहण गर्ने पहिलो ‘डबल एम्प्युटी एबोभ नी’ व्यक्तिको ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्।

बुढामगरका अनुसार उनी भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। नेपाल आगमनपछि पत्रकार सम्मेलन, टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने तथा माघे सङ्क्रान्ति उत्सव नेपाली जनतासँगै मनाउने कार्यक्रम तय भएको छ।

उनले सगरमाथा आरोहणबाट सेभेन समिट अभियान सुरु गरेका थिए। विसं २०८० जेठ ५ गते उनले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै अभियानको पहिलो ऐतिहासिक कदम चालेका थिए।

रोल्पाको थबाङ गाउँपालिकास्थित मिरुल घर भएका बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। सन् २०१० मा अफगानिस्तानमा ड्युटीका क्रममा उनी आफ्ना दुवै खुट्टा घुँडामाथिबाट गुमाउन पुगेका थिए। तर, त्यस कठिन अवस्थालाई चुनौतीका रूपमा स्वीकार्दै उनले विश्व पर्वतारोहण इतिहासमै उदाहरणीय सफलता हासिल गरेका हुन्।

नेपालमा अपाङ्गता सम्बन्धी चेतना अभिवृद्धि र आर्थिक विकासमा योगदान गर्ने उनको भनाइ छ। “नेपाल आमाको काखमा हुर्किएको मैले जवानी बेलायतका लागि बिताएँ, अब बाँकी समय नेपाल आमाको सेवामा समर्पित गर्नेछु,” बुढामगरले भने ।

अन्टार्कटिकाको सर्वोच्च शिखर आरोहणका क्रममा बुढामगरसँगै अविरल राई, मिङ्मा शेर्पा र आरोहण नेता जाङ्बु शेर्पा सहभागी थिए।

Read more news from Taksar News

Explore by Source or Category