मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश, ‘संसदीय परीक्षण लोकतन्त्रको अभ्यास अनुकूल’
काठमाडौं। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेको छ। नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्चले यादवलाई विश्वासको मतको मौका दिएको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासले शपथ भइसकेको अवस्थामा संसदीय प्रक्रियामा प्रवेश गर्नु उपयुक्त हुने आदेश गरेको हो।
मधेश प्रदेश सभाका बहुमत सदस्यहरूले संविधानको धारा १६८(२) को प्रक्रिया सुरु गर्न माग गरेकाले अदालतले उक्त प्रक्रियाबारे टुंगोमा पुग्नुअघि २४ घण्टाभित्र सभामा विश्वासको मतको प्रक्रिया अघि बढाउन आदेश गरेको हो।
अदालतले यादवको नियुक्ति बदर गरी उपधारा २ अनुसारको प्रक्रिया माग गरेकोमा विश्वासको मतको अवसर दिने फैसला गरेको हो। यादवले विश्वासको मत पाएमा सरकारले निरन्तरता पाउनेछ। आवश्यक बहुमत नपाएमा भने उपधारा २ को प्रक्रिया वा मुख्यमन्त्री चयनको अर्को विकल्पमा जानेछ।
‘२४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त माननीय सरोज कुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश प्रदेश, प्रदेश सभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोही बमोजिम र प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १६८(२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्नू,’ अदालतले आदेशमा भनेको छ।
नियुक्त मुख्यमन्त्रीको शपथ भइसकेको र पदावधि कायमै रहेको अवस्थामा नियुक्तिको वैधानिकता न्यायिक परीक्षणभन्दा संसदीय परीक्षण नै उपयुक्त हुने अदालतको फैसलामा उल्लेख छ।
आदेशमा भनिएको छ, ‘मुख्यमन्त्री माननीय सरोजकुमार यादव नेपालको संविधानको धारा १६८(४) बमोजिमको संसदीय परीक्षण अर्थात् विश्वासको मतको प्रस्तावबाट मुख्यमन्त्री रहने वा नरहने कुराको निरूपण हुनु नै संसदीय लोकतन्त्रको मूल्य मान्यता र अभ्यास अनुकूल हुने देखिँदा मुख्यमन्त्री पदमा नियुक्त माननीय सरोज कुमार यादवको नियुक्तिको वैधानिकताको परीक्षण प्रत्यक्ष एवम् वस्तुनिष्ठ आधार कारणको अभावमा यस अदालतबाट गरिरहनुपर्नेसम्मको अवस्था न्यायिक संयमताको सिद्धान्तसमेतको अनुकूल हुनसक्ने देखिएन।’
अदालतले यादवलाई दुई पटकसम्म दीर्घकालीन महत्वका कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
The post मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश, ‘संसदीय परीक्षण लोकतन्त्रको अभ्यास अनुकूल’ appeared first on BIZMANDU.