npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

बालेनमार्फत रास्वपाको मधेस यात्रा

वीरेन्द्र रमण 13 hours ago

जनकपुरधाम। कालो चस्मा, कालो पाइन्ट र कोट पनि कालै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को ‘सिग्नेचर अटायर’ नै हो यो।

२०७९ सालको स्थानीय तह निर्वाचनमार्फत काठमाडौँ महानगरपालिकाको मेयर हुनुअघि भने बालेनमा कालो रंगप्रतिको यो आसक्ति देखिएको थिएन। मेयर निर्वाचित भएसँगै एकाएक बालेनले आफूलाई रहस्यमयी पात्र बनाए। न कुनै सार्वजनिक सम्बोधन न आम सञ्चारमाध्यमको सामना न त आफ्नै मतदातासँग साक्षात्कार।

तर, अब बालेन बदलिने भएका छन्। २०७९ सालको निर्वाचनअघि जस्तै २१ फागुनको निर्वाचनको सम्मुखमा बल्ल बालेनले चुनावी सभामार्फत पहिलो सार्वजनिक सम्बोधन गर्ने भएका छन्। जुन सभामार्फतै बालेनले आफ्नो ‘सिग्नेचर अटायर’ पनि त्याग्ने भएका छन्।

रास्वपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका बालेनले ५ माघमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने सभालाई सम्बोधन गर्दै आफ्नो चुनावी अभियान प्रारम्भ गर्नेछन् जहाँ उनी कुर्तामा देखिने भएका छन्। रास्वपा मधेसका संगठन विभागका उपप्रमुख अम्भुप्रसाद साह बालेनले कुर्ता लगाउने भएकैले आफूहरू पनि त्यस दिन सभामा कुर्तामै उपस्थित हुने बताउँछन्।

रास्वपाको चुनावी सभाका लागि कार्यकर्ताहरूले प्रचार सामग्रीका रूपमा प्रयोग गरेको एआईसिर्जित तस्बिर

तालिकाअनुसार ४ माघ अपराह्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन जनकपुर आउनेछन्। ५ गते बिहान जानकी मन्दिरमा पूजाआजा गर्नेछन्। त्यसपछि सभापति लामिछाने, उपाध्यक्ष स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झालगायत नेताहरूसँग बालेन सभामा व्यस्त रहनेछन्।

“जनकपुरको तिरहुतिया गाछीमा माघ ५ गते परिवर्तन उद्घोष सभाको आयोजना गरिएको छ,” रास्वपाका प्रवक्ता झा भन्छन्, “सबै नेताहरूले त्यस सभालाई सम्बोधन गर्नुहुनेछ।”

झाका अनुसार सभामा करिब २० हजार व्यक्ति उपस्थित हुने आकलन छ। सोही दिन जनकपुरमै रास्वपाले मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला पनि आयोजना गरेको छ। कार्यकर्ता भेलामा पनि पार्टीका शीर्ष नेताहरू उपस्थित रहने झा बताउँछन्।

चुनावी सभाका लागि अहिले मधेसका गाउँ गाउँमा प्रचार भइरहेको छ। मधेसको पहिचान झल्किने गरी बालेन र रविले धोती लगाएका तस्बिरहरू एआई प्रयोग गरी बनाएर प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेका छन्। गाउँ गाउँमा ‘अबकी बार बालेन सरकार’ भन्दै प्रचारात्मक पोस्टरहरू टाँसिएका छन्।

रास्वपाको चुनावी सभाका लागि कार्यकर्ताहरूले प्रचार सामग्रीका रूपमा प्रयोग गरेको एआईसिर्जित तस्बिर

काठमाडौँ महानगरको मेयर निर्वाचित भएपछिका क्रियाकलापका कारण बालेनलाई पर्दापछाडिबाटै स्थानीय सरकार सञ्चालन गरेको आरोप पनि लाग्दै आएको छ। यस्तोमा मधेस आन्दोलनको साक्षी सहर जनकपुरबाट बालेनले सुरु गर्न लागेको अभियानप्रति चासो व्यापक छ।

किन रोजे मधेस?

महोत्तरीको एकडारा गाउँपालिकामा जन्मिएका बालेनले मधेस रोज्नुपछाडिको कारण के? अनेक अनुमान लगाइँदै छ। जन्मस्थान महोत्तरीबाटै चुनाव लड्न मधेस रोजेको हुन सक्ने कतिपयको आकलन छ। यद्यपि, बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने तयारी लगभग गरिसकेका छन्। उनको टोली झापामा सम्पर्क कार्यालय नै स्थापना गर्ने तयारीमा छ।

यता, अर्कोथरीको बुझाइ के पनि छ भने, मधेसको राजनीतिमा देखिएको शून्यतालाई आफ्नो पक्षमा पार्न बालेनले यो कदम चालेका हुन्। “मधेसमा युवाहरूमा राजनीतिप्रति एकखालको वितृष्णा देखापरेको छ। पुराना राजनीतिकर्मीहरूले नयाँलाई अवसर दिँदैनन्। यस्तोमा मधेसको भरोसा जित्ने प्रयास होला बालेनको,” अभियन्ता सरोजकुमार मिश्र बताउँछन्।

जनकपुरमा बालेनको सम्बोधनका लागि तयार पारिएको प्रचार सामग्री प्रदर्शन गर्दै रास्वपा कार्यकर्ता

मिश्रका अनुसार मधेसी युवाहरूमा व्याप्त निराशा सम्बोधन गर्न सक्ने आफू नै हो भन्ने बालेनले देखाउन खोजेको हुन सक्छ।

यता, रास्वपा मधेसका संगठन विभागका उपप्रमुख अम्भुप्रसाद साह पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेपछि गाउँ गाउँमा उत्साह देखिएकाले उनले मधेस रोजेको बताउँछन्। उनी भन्छन्, “मधेस परिवर्तनको ठाउँ हो। अहिलेको निर्वाचन पनि परिवर्तनकै लागि हुन लागेको हो। त्यसैलाई उद्घोष गर्न मधेस रोजिएको हो। मधेसीले नेपालको राजनीतिको नेतृत्व गर्न सक्दैन भन्ने मनोविज्ञानलाई चिर्न पनि यो सभा आयोजना गर्न लागिएको हो।”

जेन-जी आन्दोलनका अगुवा पुरुषोत्तम यादव पनि विगतमा नेपालका राजनीतिक परिवर्तनमा मधेसको महत्त्वपूर्ण भूमिका हुने गरेकाले बालेनले मधेस रोजेको बताउँछन्। “नेपालको राजनीतिक परिवर्तन मधेसबाटै हुन्छ, त्यसकारण यो सभा आयोजना गरिएको हो,” उनी भन्छन्।

यादव हालसम्म मधेस मूलका कोही पनि प्रधानमन्त्री नबनेको पृष्ठभूमिमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर सम्पूर्ण मधेसको मान बढाएकोसमेत बताउँछन्।

रास्वपाको चुनावी सभाका लागि कार्यकर्ताहरूले प्रचार सामग्रीका रूपमा प्रयोग गरेको एआईसिर्जित तस्बिर

अधिवक्ता रक्कीप्रसाद साह जनकपुरको सभा बालेनको राजनीतिक सफलता आकलन गर्ने पहिलो खुड्किला रहेको बताउँछन्। “मधेस जहिले पनि राजनीतिक प्रयोगशाला नै बनेको छ। यसपटक बालेनले मतदाताको भावनात्मक रुझान आफूतर्फ केन्द्रित पार्न मधेसबाट प्रचारात्मक अभियान सुरु गर्न खोजेको देखिन्छ। त्यस सभाले उनको राजनीतिक सफलता आकलन गर्न सकिन्छ,” उनी भन्छन्।

रास्वपा ‘फ्याक्टर’

सांगठनिक हिसाबले हेर्न हो भने, मधेसमा रास्वपाको उपस्थिति कमजोर देखिन्छ। २०७९ सालको आम निर्वाचनमा मधेस प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ केवल एक लाख सात हजार ८४ मत प्राप्त गरेको थियो। मधेसमा त्यतिबेला मतदाता संख्या ३३ लाख ८६ हजार ६२८ थियो।

प्रत्यक्षतर्फ भने देशभर अप्रत्याशित नतिजा ल्याएर सनसनी मच्चाएको रास्वपाले मधेसमा एक सिट पनि जितेको थिएन। यसले समेत पार्टीलाई मधेसले स्वीकार नगरेको प्रस्टै झल्काएको थियो।

अर्कातर्फ रास्वपा संघीयताविरोधी रहेको सन्देह पनि व्याप्त थियो। यी सबै विषयलाई बालेनको लोकप्रियतामार्फत एकसाथ सम्बोधन गर्न रास्वपाले जनकपुरमा सभा आयोजना गर्न खोजेको देखिन्छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category