राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग गर्ने एन्फाको निर्णय
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपत्कालीन बैठकले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय लिग २५ पुसबाट सुरु हुँदै छ। “राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरियो,” एन्फा महासचिव किरण राईले भने।
लिगमा ‘ए’ डिभिजनका ६ टोली र प्रेसिडेन्ट लिगका शीर्ष चार टोलीले सहभागिता जनाउनेछन्। सहभागिता सुनिश्चिताको फाराम मंसिर १५ भित्र बुझाउन महासचिव राईले आइतबार नै निर्देशन दिइसकेका छन्।
राष्ट्रिय लिगमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्याइज युनाइटेडसँगै मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी)ले सहभागिता जनाउने छन्।
यस्तै, एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार क्लब नवजागृति क्लब (बारा), चित्लाङ फुटबल क्लब (काठमाडौं), काँक्रेविहार युथ क्लब (सुर्खेत) र लालीगुराँस एसोसियसन क्लब (कास्की) ले पनि सहभागिता जनाउने छन्।
अन्तिमपल्ट ‘ए’ डिभिजन लिग जेठ २०७९ मा भएको थियो। उक्त लिगमा मच्छिन्द्रलाई ३ अंकले पछि पार्दै चर्च ब्वाइजले डेब्युमै उपाधि जितेको थियो।