KHASOKHAS
खामेनीको मृत्युपछि इरानमा कतै खुसी, कतै निराशा: अब नेतृत्व कसले गर्ला ?
अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीको निधन भएपछि केही ठाउँमा खुसीयाली छाएको छ।
शनिबार राति खामेनी मारिएको खबर सार्वजनिक भएपछि राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा खुसीयालीका स्वरहरू सुनिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टि गरेका भिडियोहरूमा तेहरान र अन्य सहरका सडकहरू गाडीले भरिएका, चालकहरूले हर्न बजाइरहेका, आतसबाजी गरिरहेका र मानिसहरू खुलेर खुसी व्यक्त गरिरहेका देखिन्छन्।
फार्स प्रान्तको गालेह दर क्षेत्रमा खिचिएको एक दृश्यमा केही व्यक्तिहरूले एउटा स्मारक भत्काइरहेको र वरिपरि आगो बलिरहेको देखिन्छ। त्यसैगरी, मध्य इरानको इस्फहान सहरमा मानिसहरू सडकमा निस्केर चिच्याउँदै र नाच्दै उत्सव मनाइरहेका देखिएका छन्।
उत्तरी तेहरानका युवाहरू राति सडकमा निस्केर ठूलो आवाजका साथ खुसी मनाइरहेका थिए; उनीहरू निकै हर्षित र उत्साहित देखिन्थे।
तर, सबै नागरिकको भावना एउटै छैन। धेरै मानिसहरू यो घटनाले देशको भविष्य कता मोडिने हो भन्ने चिन्तामा परेका छन्। कतिपय बासिन्दाले रातभर निद्रा नलागेको बताउँदै खामेनीको निधनपछि देश समृद्धितर्फ अघि बढ्छ कि थप अस्थिरता र अन्योल बढ्छ भन्ने प्रश्नले आफूलाई चिन्तित बनाएको बताएका छन्।
खामेनीको मृत्युको खबर टेलिभिजनमा वाचन गर्दै गर्दा प्रस्तोता भावुक बनेको दृश्य पनि देखिएको छ। ८६ वर्षीय खामेनी मारिएपछि ४० दिने शोक घोषणा गरिएको छ।
इरानका सर्वोच्च नेता खामेनीको मृत्युपछि अब इरानको नेतृत्व कसले गर्ला भन्ने चासो व्यक्त हुन थालेको छ। इरानको संविधानअनुसार नयाँ सर्वोच्च नेता नियुक्त गर्ने जिम्मेवारी ‘विज्ञहरूको सभा’ लाई हुन्छ।
नयाँ नियुक्ति नभएसम्म राष्ट्रपति, न्यायपालिकाका प्रमुख र संरक्षक परिषद्का एक धर्मविद् सम्मिलित तीन सदस्यीय अन्तरिम परिषद्ले नेताको कार्यभार सम्हाल्ने व्यवस्था छ।
खामेनीपछि को नेतृत्वमा आउनेछ भन्ने अझै स्पष्ट छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जनवरीमा “यदि सर्वोच्च नेता हटाइए भने त्यसपछि के हुन्छ भन्ने कसैलाई थाहा छैन” भनी बताएका थिए।
जनवरीमा भएका व्यापक प्रदर्शनहरूमा जनआक्रोश खामेनीप्रति नै केन्द्रित थियो। केही प्रदर्शनहरूमा “खामेनीको मृत्यु होस्” भन्ने सम्मका नारा लगाइएको थियो। प्रशासनले ती प्रदर्शनहरूलाई इजरायल–अमेरिकी षड्यन्त्रको निरन्तरता भन्दै कठोर बल प्रयोग गरेर दबाएको थियो।
यी प्रदर्शनहरू सन् २०२२ मा धार्मिक प्रहरीको नियन्त्रणमा रहँदा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि भएको आन्दोलनयताकै सबैभन्दा ठूला थिए।
शनिबार तेहरानका केही क्षेत्रमा खामेनीको मृत्युको खबर फैलिएपछि “इस्लामी गणतन्त्रको अन्त्य होस्” र “राजतन्त्र जीवित रहोस्” जस्ता नाराहरू लागेका दृश्य सामग्रीहरू बाहिरिएका छन्।
खामेनीको मृत्युले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउन सक्छ। सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले क्षेत्रभर आफ्ना विरोधी शक्तिविरुद्ध व्यापक अभियान थालेका थिए।
यसअघि सन् १९५३ मा इरानका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्देघलाई हटाउन विदेशी गुप्तचर निकायको सहयोगमा सैनिक ‘कू’ भएको थियो, जसले शाह मोहम्मद रेजा पहलवीलाई पुनः सत्तामा फर्काएको थियो। पछि सन् १९७९ को इस्लामी क्रान्तिले राजतन्त्र अन्त्य गरेपछि उक्त घटनाले इरानमा अमेरिकी विरोधी भावनालाई बलियो बनाएको थियो।
९ करोडभन्दा बढी जनसङ्ख्या भएको इरान विविध जातीय समुदायको देश हो। खामेनीको लामो शासनकालमा देशले आन्तरिक अशान्तिलाई धेरै हदसम्म नियन्त्रणमा राखेको थियो। तर, स्पष्ट उत्तराधिकारी नदेखिएकाले उनको मृत्युले इरानमा मात्र नभई समग्र क्षेत्र र विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।