इरान युद्धले खाडी क्षेत्रको ‘सुरक्षित’ छवि धमिलो बनाउँदै, मिसाइल र ड्रोनको जवाफ के?
इरान र अमेरिका-इजरायलको नयाँ युद्धको चपेटामा खाडी राष्ट्रहरू परेका छन्। इरानले अमेरिका र इजरायलको हवाई आक्रमणको जवाफ दिँदै आफ्ना अरब छिमेकीतर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको छ।
इरानले खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाएको जनाएको छ। तर, नागरिक संरचना र ऊर्जा पूर्वाधार पनि यसबाट प्रभावित भएका छन्।
यसले खाडी क्षेत्रलाई सुरक्षित, समृद्ध र पर्यटन तथा वित्तको केन्द्र भन्ने छवि धमिलो बनाएको छ। तेल र ग्यास उद्योगमा पनि यसले अवरोध पुर्याएको छ।
अरब राष्ट्रहरूले यो युद्ध चाहेका थिएनन्। उनीहरूले यसलाई रोक्न प्रयास गरेका थिए। तर, उनीहरू आफूले ‘विश्वासघाती’ भनेका इरानी आक्रमणका कारण युद्धमा तानिन सक्ने चिन्ता बढेको छ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले मंगलबार पत्रकार सम्मेलनमा सबै हद पार भइसकेको बताएका छन्। उनले सार्वभौमसत्तामाथि निरन्तर आक्रमण भइरहेको बताए।
पूर्वाधार र आवासीय क्षेत्रमा प्रहार भएको उनले उल्लेख गरे। यस्तो आक्रमण जवाफविहीन नरहने चेतावनी पनि उनले दिएका छन्।
अधिकांश इरानी मिसाइलहरू ‘इन्टरसेप्ट’ गरिएका छन्। तर, खसेका अवशेषले आगलागी गराएका छन् र मानिसको ज्यान गएको छ। हवाई प्रतिरक्षाबाट सजिलै पार हुने ड्रोनले ठूलो क्षति नगरे पनि व्यापार र यात्रामा अव्यवस्था सिर्जना गरेका छन्।
विश्लेषकहरूका अनुसार इरानको रणनीति आफ्ना अरब छिमेकीमाथि दबाब बढाउने हो। उनीहरूले अमेरिकामाथि युद्ध अन्त्य गर्न दबाब बढाउने अपेक्षा गरिएको छ।
फाइनान्सियल टाइम्सका अनुसार इरानले संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ पनि इजरायलजत्तिकै संख्यामा ड्रोन र मिसाइल प्रहार गरेको विश्वास गरिएको छ।
खाडी क्षेत्रको महत्त्वपूर्ण तेल र ग्यास उद्योगलाई हतियारका रूपमा प्रयोग गर्न सकिने चिन्ता छ। त्यसले विश्व अर्थतन्त्रमा ठूलो झट्का दिन सक्छ। तर, यस्तो रणनीतिले इरानकै लागि उल्टो असर पनि पार्न सक्छ।
खाडी राष्ट्रहरू वासिङ्टनसँग झनै नजिकिन सक्छन्। केही अवस्थामा युद्ध प्रयासमा सहभागी हुने सम्भावना पनि रहन्छ।
अहिलेसम्म ती देशहरूले अमेरिकालाई आफ्नो आकाश र भूमि प्रयोग गरी इरानमाथि आक्रमण गर्न दिएका छैनन्। तर, अवस्था बदलिन सक्छ। भविष्यमा उनीहरूले सैन्य कारबाहीमा प्रत्यक्ष भाग लिन सक्ने सम्भावना छ।
हाल भने उनीहरू रक्षा रणनीतिमा केन्द्रित छन्। युद्ध कति लम्बिन्छ भन्नेमा धेरै कुरा निर्भर हुनेछ। केही देश इजरायलको पक्षमा खुलेर उभिएको देखिन चाहँदैनन्।
सन् २०२३ को अक्टोबरमा हमास आक्रमणपछि गाजामा इजरायलको कारबाहीले अरब देशसँगको सम्बन्ध तनावपूर्ण बनाएको छ। गत वर्ष कतारमा हमास नेतृत्वमाथि आक्रमण प्रयास हुँदा पनि आक्रोश बढेको थियो।
इरानी आक्रमणले खाडी राष्ट्रबीच एकता बलियो बनाएको छ। खाडी सहयोग परिषद्का ६ सदस्य राष्ट्रहरू साउदी अरेबिया, कुवेत, कतार, बहराइन, यूएई र ओमानले आइतबार आपतकालीन बैठक गरेका छन्।
उनीहरूले एकता प्रकट गर्दै सुरक्षा र स्थायित्व जोगाउन आवश्यक सबै कदम चाल्ने प्रतिवद्धता जनाएका छन्। आवश्यक परे आक्रमणको जवाफ दिने विकल्प खुला राखिएको छ।
The post इरान युद्धले खाडी क्षेत्रको ‘सुरक्षित’ छवि धमिलो बनाउँदै, मिसाइल र ड्रोनको जवाफ के? appeared first on BIZMANDU.