Sutra News
नेपाली साहित्यलाई विश्वबजारमा उभ्याउन अनेसासको अनवरत योगदान
काठमाडौं । नेपाली भाषा र साहित्यलाई विश्व समुदायमा परिचित गराउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले पुर्याउँदै आएको योगदान उल्लेखनीय मानिन्छ । विशेषगरी नेपालबाहिर रहेका नेपाली भाषाभाषीहरूबिच भाषा, साहित्य र संस्कृतिका माध्यमबाट एकताको सूत्र बन्ने कार्यमा अनेसास निरन्तर रूपमा संलग्न रहँदै आएको छ । विश्वव्यापी साहित्यिक सञ्जाल, नियमित साहित्यिक कार्यक्रम, विधागत पुरस्कार प्रणाली तथा विविध प्रकाशन माध्यममार्फत् संस्थाले नेपाली भाषा–साहित्यको सेवा, संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
नेपाली भाषा र साहित्य राष्ट्रिय पहिचानको मेरूदण्ड भएकाले अनेसासको यो निरन्तर प्रयास भविष्यका पुस्ताका लागि मूल्यवान योगदानको रूपमा लिइन्छ । अनेसास नेपाली भाषा–साहित्यलाई विश्वभर प्रचार–प्रसार तथा संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको संस्था हो । विदेशमा रहेका नेपालीहरूलाई मातृभाषा र साहित्यसँग जोडिराख्ने सेतुको भूमिकामा समेत यस संस्थाले प्रभावकारी योगदान दिँदै आएको छ।
साहित्यिक पुरस्कारमार्फत् लेखक–स्रष्टाहरूलाई प्रोत्साहन
अनेसासले नेपाली भाषामा सिर्जना गर्ने लेखक, कवि, निबन्धकार, उपन्यासकार, गीतकारलगायत स्रष्टाहरूलाई प्रोत्साहन गर्न विभिन्न श्रेणीका वार्षिक पुरस्कार स्थापना गरेको छ । पुरस्कारहरूले लेखकहरूलाई गुणस्तरीय रचना सिर्जना गर्न प्रेरित गरिरहेको अध्यक्षीयस्तरबाट उल्लेख गरिन्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्र लुइँटेलसँगको एक संवादमा उनले पुरस्कारको रकम हरेक वर्ष वृद्धि हुँदै गएको जानकारी दिए ।
नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी र वरिष्ठ उपाध्यक्ष मञ्जिला अनिलले पनि नेपाल च्याप्टरमार्फत भइरहेका अनेसासका गतिविधिबारे प्रकाश पारेका थिए।
२०२५ का लागि अनेसासले ११ श्रेणीमा पुरस्कार घोषणा गरेको थियो, जसमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार (२१०० अमेरिकी डलर) रोशन थापा निरवको उपन्यास ‘सन्त्रासको साठी दिन’ लाई प्रदान गरिएको थियो । अन्य श्रेणीहरूमा कविता, गीत, निबन्ध, लोककथा, बालसाहित्य, डायस्पोरा साहित्य आदि समावेश थिए।
यस्तै, अनेसासले हरेक दुई वर्षमा ठूलो रकमको पुरस्कार वितरण गर्दै आएको छ । ११७औँ लक्ष्मी जयन्ती (२०२५) तथा पुरस्कार वितरण समारोहमा ११ हजार ६०० अमेरिकी डलरभन्दा बढी पुरस्कार राशिको वितरण गरिएको थियो। यो पुरस्कार विश्वभर रहेका नेपाली स्रष्टाहरूका उत्कृष्ट कृतिहरूलाई प्रदान गरिएको थियो।
विश्वव्यापी साहित्यिक सम्मेलन, गोष्ठी र विविध आयोजनाहरू
अनेसासले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन विभिन्न कार्यक्रम र छलफलहरू नियमित रूपमा आयोजना गर्दै आएको छ । विश्वभर रहेका नेपाली साहित्यकारलाई एक थलोमा ल्याउने उद्देश्यले संस्था समय–समयमा ठूला सम्मेलनहरू पनि आयोजना गर्छ ।
२०२१ मा सम्पन्न विश्व नेपाली साहित्य सम्मेलनले साहित्यमार्फत सामाजिक कुप्रथाविरुद्ध सचेतना जगाउने, मातृभाषाको संरक्षण गर्ने तथा उत्कृष्ट कृतिको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित १६ बुँदे घोषणापत्र जारी गरेको थियो।
त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा अनेसासले विशेष कार्यक्रम गर्दै आएको छ । २०२५ नोभेम्बर १ मा ११७औँ देवकोटा जयन्ती मनाउँदै अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार पनि प्रदान गरिएको थियो । अमेरिकामा आयोजित ऊक्त कार्यत्रममा त्यहाँ रहेका नेपाली सर्जकहरूको उपस्थिति उल्लेख्य थियो।
यस्तै, विश्वव्यापी साहित्यिक विचार–विनिमय, भर्चुअल कविता गोष्ठी, समालोचनात्मक बैठक तथा साहित्यिक छलफलहरू अनेसास केन्द्र तथा स्थानीय च्याप्टरहरूले नियमित रूपमा सञ्चालन गर्दै आएका छन्।
साहित्यिक प्रकाशन तथा सृजनात्मक माध्यमहरूको विस्तार
साहित्यिक सामग्री प्रसारणका लागि अनेसासले विभिन्न फ्रकाशन कार्यक्रम सञ्चालन गर्ने गरेको छ । व्यक्तिगत तथा सामूहिक दुवै प्रकारका कृतिहरू प्रकाशन गर्न सहयोग पुर्याउने र सामूहिक कृति–सङ्ग्रह प्रकाशित गर्ने परम्परा निरन्तर जारी छ । हालै उपन्यासकार जमुना भट्टराईले लेखेको ‘मर्नुअघि’ उपन्यास नेपाल च्याप्टरमार्फत् भदौ महिनामा विमोचन गरिएको थियो ।
अनेसासका दैनिक गतिविधि यसको आधिकारिक वेबसाइटमार्फत् उपलब्ध हुन्छन् । संस्थाको विश्वव्यापी संरचना तथा स्थानीय च्याप्टरहरूको सक्रियताले नेपाली भाषा–साहित्यको प्रचार–प्रसारलाई थप मजबुत बनाइरहेको केन्द्रका पदाधिकारीहरूले बताएका छन्।
नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीका अनुसार अनेसास हाल ५० भन्दा बढी देशमा फैलिएको छ र करिब १०० च्याप्टर/शाखाहरू सञ्चालनमा छन्। चार हजारभन्दा बढी आजीवन तथा ट्रस्टी सदस्य यसमा आबद्ध छन्।
नेपाली भाषा, संस्कृति र लोपोन्मुख भाषाको संरक्षणमा जोड
अनेसासले साहित्यसँगै भाषा र संस्कृति संरक्षणमा पनि प्राथमिकता दिँदै आएको छ । नेपाली भाषाको साथै लोपोन्मुख भाषाको अभिलेखीकरण, साहित्य लेखन तथा डेटा सङ्कलनलाई संस्थाले भविष्यका प्राथमिकतामा राखेको छ ।
नेपाली आप्रवासीहरूको साहित्यिक इतिहास लेखन कार्य पनि विशिष्ट विद्वानहरूको सहभागितामा अघि बढिरहेको छ ं। विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपि र संस्कृतिको ज्ञान दिन फ्लोरिडा च्याप्टरलगायतका इकाइहरूले भाषा–कक्षा सञ्चालन गरिरहेका छन्, जसले विदेशमा नेपाली भाषाको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ।
अनेसासका पूर्वअध्यक्ष तथा सल्लाहकारहरूले भाषा र साहित्यलाई विदेशमा रहेका नेपालीहरूलाई जोड्ने प्रमुख माध्यमका रूपमा व्याख्या गरेका छन्।
नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउने अभियान
अनेसासले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक बजारमा चिनाउने तथा विश्वसाहित्यमा उभ्याउने लक्ष्यसहित विभिन्न देशका साहित्यिक संस्था तथा व्यक्तित्वसँग सहकार्य गर्दै आएको छ । संस्थाले वरिष्ठ तथा प्रख्यात नेपाली लेखक–कविका कृतिहरूलाई अनुवाद गरी विश्वसाहित्यमा पुर्याउन आवश्यक पहल पनि संस्था गर्दै आएको छ।
सस्थाले विभिन्न देशहरूका साहित्यिक संस्था र व्यक्तित्वहरूसंग सहकार्य गर्छ । यसले आयोजना गरेका विश्व सम्मेलनहरूमा नेपाल, भारत, अमेरिका, युरोप लगायतका देशहरूका साहित्यकारहरू सहभागी हुने गरेका छन् ।
डायस्पोरिक नेपाली साहित्यलाई विशेष महत्त्व दिंदै अनेसासले विदेशमा रहेका नेपाली स्रष्टाहरूलाई एउटै छातामुनि ल्याएर प्रकाशन सहयोग, साहित्यिक मञ्च र अन्तरक्रियात्मक अवसर प्रदान गर्दै आएको छ।