PalikaNews
अधुरो प्रशासनिक भवन उद्घाटन नगर्न भरतपुर महानगरलाई रास्वपाको चेतावनी
भरतपुर – भरतपुर महानगरपालिकाले पूर्ण रूपमा निर्माण सम्पन्न नगरी प्रशासनिक भवनको उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरले शुक्रबार तय गरिएको उद्घाटन कार्यक्रम तत्काल रोक्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले कडा आपत्ति जनाउँदै चेतावनीसमेत दिएको छ ।
महानगरपालिकाले चार तले प्रशासनिक भवनमध्ये हाल दुई तलाको मात्र निर्माण सम्पन्न भएको अवस्थामा बाँकी काम अधुरै रहँदै उद्घाटनको तयारी गरेको रास्वपाको आरोप छ । पार्टीले यस कदमलाई जनतालाई भ्रममा पार्ने र राजनीतिक स्वार्थ पूरा गर्न गरिएको गैर–जिम्मेवार निर्णयको संज्ञा दिएको छ ।
रास्वपा भरतपुर महानगर समितिका सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।”
विज्ञप्तिमा सार्वजनिक भवनजस्तो संवेदनशील संरचना सञ्चालनमा ल्याउनु अघि सुरक्षा, प्रयोगयोग्यता, प्राविधिक परीक्षण र व्यवस्थापनका सबै पक्ष पूर्ण रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । अधुरो संरचनाको उद्घाटन लोकतान्त्रिक मूल्य–मान्यताको अवमूल्यन हुने कार्य भएको रास्वपाको ठहर छ ।
निर्वाचन वा राजनीतिक कार्यतालिकाको दबाबमा अधुरो भवनलाई ‘उद्घाटन’ गर्नु विकासको मर्मविपरीत रहेको उल्लेख गर्दै पार्टीले यसले आम नागरिकमा गलत सन्देश जाने चेतावनी दिएको छ । उद्घाटन समारोहका नाममा हुने खर्चलाई राज्यकोषको दुरुपयोग भन्दै उक्त रकम बाँकी निर्माण कार्य छिटो सम्पन्न गर्न प्रयोग गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ ।
“अधुरो कामलाई सम्पन्न भएको जस्तो प्रस्तुत गर्नु भरतपुरवासी नागरिकहरूमाथिको अपमान हो,” विज्ञप्तिमा भनिएको छ । विकास देखाउने नाममा अधुरा योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिको रास्वपाले कडा विरोध गरेको छ ।
महानगर सभापति ज्ञवालीले भनिन्, “वास्तविक विकास भनेको दीर्घकालीन, सुरक्षित र जनताले सहज रूपमा प्रयोग गर्न सक्ने संरचना निर्माण गर्नु हो, फोटो खिच्ने र रिबन काट्ने कार्यक्रम होइन।”
रास्वपा भरतपुर महानगर समितिले महानगर नेतृत्वसँग शुक्रबारका लागि तय गरिएको उद्घाटन कार्यक्रम तत्काल रोक्न माग गरेको छ । साथै, प्रशासनिक भवनको सम्पूर्ण निर्माण कार्य पूरा गरी आवश्यक प्राविधिक परीक्षण, गुणस्तर मापदण्ड र सञ्चालनसम्बन्धी तयारी सुनिश्चित भएपछि मात्र विधिवत रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।