निर्वाचनमा मौसमको साथ : निर्धक्क भएर मतदान गर्न आग्रह
काठमाडौँ । आगामी निर्वाचनको समयमा प्रकृतिले पनि साथ दिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मतदान हुने मुख्य दिन २१ गतेसहित आगामी तीन दिन देशभरको मौसम सामान्यतया सफा रहनेछ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार २०, २१ र २२ गते मौसममा कुनै ठुलो फेरबदल हुने सम्भावना छैन, जसले गर्दा निर्वाचन प्रक्रियामा मौसमका कारण कुनै अवरोध पुग्ने देखिँदैन।
अहिलेको मौसमी अवस्था हेर्दा मङ्गलवार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का बादल देखिए पनि वर्षाको सम्भावना शून्य रहेको पौडेलले बताए।
कतिपय स्थानमा स्थानीय वायु र प्रदूषणका कारण केही तुवाँलो लागेको देखिए पनि यसले कुनै मौसमी जोखिम ननिम्त्याउने विभागको भनाइ छ।
निर्वाचनको भोलिपल्ट अर्थात् २२ गते मौसममा थोरै बदली आउन सक्ने भए पनि भारी वर्षा वा हिमपातको कुनै संकेत देखिएको छैन।
विभागले निर्वाचनलाई लक्षित गरी आगामी तीन दिनको विस्तृत मौसमी प्रतिवेदन निर्वाचन आयोगलाई समेत बुझाइसकेको छ। कुनै पनि प्राकृतिक वा मौसमी अवरोध नआउनेमा मौसमविद्हरू ढुक्क देखिएका छन्।
मौसमसम्बन्धी नियमित अपडेटहरू विभागको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत पनि प्राप्त गर्न सकिने जानकारी दिइएको छ।