‘शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौँ’
बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन आगामी २१ फागुनको निर्वाचन सफल बनाउन आग्रह गरेका छन्।
उनले त्रिभुवन मावि बलेवाले गरेको हीरक महोत्सवमा शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने भएकाले पनि निर्वाचन सफल पार्नुपर्ने बताए। “संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यही दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ। जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसंगतिको अन्त्य गरी विकासको गतिलाई तीव्रता दिनु आजको आवश्यकता हो,” उनले भने‚ “यसका लागि जनचाहनाअनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय भनेकै निर्वाचन हो। त्यसैले आगामी २१ फागुनको निर्वाचनलाई सफल बनाउनु आजको आवश्यकता हो।”

राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचन सफल पार्न आग्रह पनि गरे। “शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले सबैलाई चिन्तित तुल्याएको छ‚” उनले भने, “शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीनतम् आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो।”

उनले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढङ्गले युगानुकूल शैक्षिक क्रियाकलापका नवीनतम् आयामलाई अघि बढाउन ध्यान दिनुपर्ने बताए।

तस्बिरहरू : राष्ट्रपति पौडेलको सचिवालय