npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

घरधनीकै योजनामा एसबीआई बैंक लुटपाट

नेपालन्युज 4 hours ago

काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट घटनामा सातजना पक्राउ परेका छन्। तीन दिनअघि मंगलबार बेलुका बैंक लुटपाटमा संलग्न सातजनालाई पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।

पक्राउ पर्नेमा बनेपा नगरपालिका-१० का ४९ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका-२ का ४७ वर्षीय चतुरमान बज्यू, सोही ठाउँका ४४ वर्षीय छविलाल स्याङतान, चितवन भरतपुर महानगरपालिका-२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का २३ वर्षीय मिलन गरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर र १६ वर्षीय एक नाबालक रहेका छन्।

सुवेदीका अनुसार बैंकबाट लुटिएकोमध्ये दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेकाको साथबाट प्लास्टिकको पेस्तोल, खुकुरी दुई थान, नकाव चार थानलगायत बरामद भएको छ।

बैंक लुट्ने योजनाकार बैंक भाडामा बसेको घरका धनी छविलाल स्याङतान र चतुरमान बज्यू हुन्। स्याङतानलाई प्रहरीले घ्याङलेख गाउँपालिका-१ जंगल आसपासबाट १ माघमा पक्राउ गरिएको उनले बताए। बज्यू भने बैंक लुटपाट भएकै दिन पक्राउ परेका थिए।

बैंक लुटपाट भएको दिन राति प्रहरीले बीएड ०३९८ नम्बरको टाटा सुमो र चालक थापालाई पक्राउ गरेको थियो। उक्त सुमो काभ्रेबाट ६ जनाले विवाहको लागि भनेर रिजर्ब गरी बैंक लुटपाटमा प्रयोग गरेको खुलेको छ।

सुवेदीका अनुसार पक्राउ परेकामध्ये चारजना बैंक लुट्ने योजनाअनुसार काठमाडौँबाट दुईवटा मोटरसाइकलमा सिन्धुली पुगेका थिए। बैंक लुट्ने योजना २०८२ असोजमै थियो। बैंक लुट्न भनी २३ पुसमै चारजना दुईवटा मोटरसाइकल भाडामा लिएर आएका थिए। त्यस दिन परिस्थित अनुकूल नभएपछि काठमाडौँ फर्किएका थिए।

उनीहरू २८ पुसमा फेरि कोटेश्वरमा बैंक लुट्ने योजना साकार पार्न बैठक बसेका थिए। सो दिन ढिलो भएकाले २९ पुसमा कोटेश्वरमा फेरि भेला भए। “त्यहाँबाट सार्वजनिक सवारीमा बनेपासम्म आएका थिए,” सुवेदीले भने, “त्यहाँबाट टाटासुमो भाडामा लिएर सिन्धुली आएको खुलेको छ।”

Read more news from नेपाल न्युज

Explore by Source or Category