npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

पार्टी विभाजन भएको छैन, १०लाख क्रियाशील सदस्यमध्ये ९लाख ८०हजार हामीसँग छन्: गगन थापा

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँसुकै उभ्याउन सक्ने दाबी गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिले जसरी शेरबहादुर देउवालाई सभापति चुने, त्यस्तै आफूलाई पनि प्रतिनिधिहरूले सभापति चयन गरेको बताए र सबै प्रतिनिधि आफूलाई समर्थनमा रहेको बताए।

थापाले कांग्रेस विभाजित नभएको भन्दै पार्टीभित्रको विवाद र अन्य आरोपहरू बेबास्ता गरेका छन्। उनले निर्वाचन आयोगमा यसअघि नै विशेष महाधिवेशन सम्पन्न भएको, केही दिनमै नयाँ कार्यसमितिको घोषणा हुने र सबै प्रक्रिया विधानअनुसार हुने लिखित जानकारी दिइसकेको उल्लेख गरे।

उनले स्पष्ट पारे– आयोग कुनै बाह्य शक्तिको प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्ने भएकाले पार्टीको आधिकारिकता र वैधता विवादको विषय बन्ने छैन। साथै, उनले पार्टी एकता कायम राख्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र आगामी दिनमा सदस्य सक्रियता, संगठन सुदृढीकरण र राजनीतिक रणनीतिमा केन्द्रित काम हुने बताए।

थापाले भने, “हाम्रो लक्ष्य पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउनु हो। जसरी महाधिवेशन प्रतिनिधिहरूले हामीलाई समर्थन गरे, त्यसैगरी पार्टीका सदस्य र कार्यकर्ताहरूलाई पनि प्रेरित गर्दै सबै तहमा कांग्रेसलाई मजबुत बनाउने काम जारी रहनेछ।”

पार्टीभित्रका केही विवादित मुद्दाहरूलाई समेत व्यवस्थित र विधिसंगत तरिकाले समाधान गर्ने तयारी थापाले गरिरहेको जनाइएको छ। उनले चुनाव, संगठन सुदृढीकरण र आगामी रणनीतिक कार्यक्रमहरूमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता दोहोर्याए।

Read more news from Kendrabindu

Explore by Source or Category