npl.977 Nepal News Stream

Himal Press logo Himal Press

मध्यरातबाट लाग्यो मौनअवधि, के के गर्न मिल्दैन?

Kiran Poudel 11 hours ago

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थिर समय (मौन अवधि) लागू गरेको हो।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन्।

यस अवधिमा चुनावी सभा, जुलुस, घरदैलो, सामाजिक सञ्जालका माध्यमहरूमार्फत गरिने डिजिटल प्रचारप्रसारमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू समेत हटाउनुपर्ने कानुनी व्यवस्था छ।

शान्त र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि यो व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

यस समयमा उम्मेदवारहरूले मतदातालाई आर्थिक प्रलोभन वा अन्य माध्यमबाट प्रभावित पार्ने जोखिम रहने भएकाले पनि आयोगले यसलाई कडाइका साथ लागू गर्ने अभ्यास गर्दै आएको छ।

निर्वाचन आयोगका अनुसार आयोगले २४ सै घण्टा आचारसंहिता उल्लंघनको सूक्ष्म अनुगमन गरिरहेको छ। आयोगले मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन वा गोष्ठी नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालालाई सचेत गराएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आयोगले सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा गरिसकेको छ।

Read more news from Himal Press

Explore by Source or Category