PalikaNews
शंकरापुरमा बस दुर्घटना : पिकनिकबाट फर्कँदै गरेको बस जंगलमा खस्यो, २२ घाइते
काठमाडौं – काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगल क्षेत्रमा पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा परेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब सय मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा रहेको र लगत्तै प्रहरीले उद्धार कार्य सुरु गरेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार बसमा ३५ देखि ४० जना यात्रु सवार थिए। नेचर हब नामक संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदै गर्दा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । उनीहरूको उपचार साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेललगायतका अस्पतालहरूमा भइरहेको एसपी भट्टराईले बताए ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।