PalikaNews
मध्यपहाडी लोकमार्गको काम ९० प्रतिशत सकियो, चाँडै सञ्चालनमा आउने
काठमाडौं – मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड अन्तिम चरणमा पुगेको छ । पोखरा हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्ग ९० प्रतिशत काम सम्पन्न भइसकेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर किरण सुवेदीले जानकारी दिएका छन् ।
पाँचथरदेखि बैतडीको झुलाघाटसम्म जोडिने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग भएर दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन पोखराबाट देशका पश्चिम भागमा जाने–आउन गर्ने गर्छन् । निर्माणाधीन पोखरा खण्ड सञ्चालनमा आएपछि पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र आवत–जावत सहज हुने जनाइएको छ ।
इञ्जिनियर सुवेदीका अनुसार कालोपत्रे काम सकिएर सडक फिनिसिङ चरणमा पुगेको छ । अब रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र बाँकी रहेको बताए। “तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिन्छ,” सुवेदीले भने ।
२०७९ साउन १४ मा मोतिदान कन्स्ट्रक्सनसँग दुई वर्षमै काम सक्नेगरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्ती, बिजुली तथा खानेपानीका पाइप सार्नुपर्ने प्राविधिक समस्या लगायतका कारण काम प्रभावित भएको थियो । समयमै काम नसकिएपछि म्याद ३ पटक थपिएको छ । हालको म्याद २०८३ वैशाख मसान्तसम्म रहेको जनाइएको छ ।
सडक निर्माण अघि बढेसँगै लामो समयदेखि धुलो–हिलोको सास्ती बेहोर्दै आएका स्थानीयवासी भने खुसी छन् । सिमपानीका माधव पोखरेलले “अब कष्ट हटेको” बताए ।
पोखरा–याम्दी खण्ड निर्माण सम्पन्न भएपछि धौलागिरीका चार जिल्ला र कास्कीको उत्तर–पश्चिम क्षेत्रका नागरिक समेत सहज सडक सुविधा प्राप्त गर्नेछन् ।