कालीकोटका १२८ वटै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
कालीकोट। कालीकोट जिल्लाका सबै १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु-याइएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दुर्गम तथा हिमाली क्षेत्रसम्म आवश्यक सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ।
सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणका अनुसार जिल्लामा १२७ स्थायी र एक अस्थायी गरी १२८ मतदान केन्द्र रहेका छन्। ती सबै केन्द्रमा मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायत अत्यावश्यक सामग्री समयमै पु–याइएको छ।
भौगोलिक विकटता र दुर्गमताका बाबजुद सुरक्षाकर्मी र कर्मचारीको समन्वयमा सामग्री ढुवानी कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ।
मतदान केन्द्रहरूको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको छ। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।