सामाजिक सञ्जालमा एआईको प्रयोग गरी चुनावमा दुष्प्रचार गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जाललाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । निर्वाचन आउन ५३ दिन बाँकी छँदा आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिलाई नियमन गर्ने कडा व्यवस्था गरेको हो ।
आयोगले तयार पारेको आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा नक्कली (फेक) एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने उल्लेख छ । विशेषगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी कसैलाई होच्याउने, दुष्प्रचार गर्ने वा भ्रामक सूचना सम्प्रेषण गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
आचारसंहिताअनुसार सामाजिक सञ्जालमा द्वेषपूर्ण भाषण (हेट स्पिच) र भ्रामक टीकाटिप्पणी गर्न पाइने छैन । कुनै पनि सूचना वा सामग्रीलाई एआईको प्रयोगमार्फत तोडमोड गरी निर्वाचन प्रभावित गर्ने उद्देश्यले पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न नपाइने व्यवस्था गरिएको छ ।
आयोगले आफ्नो विश्वसनीयता, पदाधिकारी तथा कर्मचारीको प्रतिष्ठामा आँच आउने गरी लाञ्छना लगाउन पनि निषेध गरेको छ । कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने वा मानहानि हुने प्रकृतिका सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
त्यस्तै, मतदाताको गोपनीयता भंग गर्ने र निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्ने गतिविधिमा पनि रोक लगाइएको छ । आयोगले यो आचारसंहिता आगामी माघ ३ गतेदेखि लागू गर्ने तयारी गरेको छ ।