npl.977 Nepal News Stream

Taksar News logo Taksar News

इरानमाथि अमेरिकी–इजरायली आक्रमण तीव्र, नौ युद्धपोत डुबाएको ट्रम्पको दाबी

टक्सार न्युज 15 hours ago

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका नौ वटा युद्धपोत डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको दाबी गरेका छन् ।

आइतवार एक अमेरिकी टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा उनले इरानमाथि गरिएको अमेरिकी–इजरायली संयुक्त आक्रमणमा ४८ जना वरिष्ठ इरानी अधिकारी मारिएको बताए ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको सैन्य कारबाहीको सुरुवातमै इरानको जामरान–क्लास कोर्पेट (एक प्रकारको युद्धपोत) माथि आक्रमण गरिएको थियो।

शनिबारदेखि सुरू भएको यस अभियानअन्तर्गत हालसम्म इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको मुख्यालयसहित एक हजारभन्दा बढी इरानी लक्ष्यहरूमा आक्रमण गरिसकिएको कमान्डले जनाएको छ।

कमान्डका अनुसार शनिबार राति दुई हजार पाउन्ड क्षमताका बमसहित अमेरिकी बी–२ स्टिल्थ बमवर्षक विमानहरूले इरानका सुदृढ ब्यालिस्टिक मिसाइल संरचनाहरूमा आक्रमण गरेका थिए।

साथै, इरानले अमेरिकी युद्धपोत अब्राहम लिंकनमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबीलाई पनि कमान्डले खण्डन गरेको छ। “लिंकनमा कुनै प्रहार भएको छैन, प्रक्षेपण गरिएका मिसाइल जहाजको नजिकसम्म पनि आइपुगेनन्,” कमान्डले स्पष्ट पारेको छ।

इरानविरुद्धको यस सैन्य कारबाहीका क्रममा तीन जना अमेरिकी सैनिक मारिएका छन् भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहानदेखि इरानमाथि ठूलो स्तरमा हवाई आक्रमण सुरु गरेपछि तेहरानले पनि इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सैन्य आधार इलाकाहरूमा लक्षित गरी श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमणमार्फत प्रत्याक्रमण थालेको जनाएको छ।

Read more news from Taksar News

Explore by Source or Category