सूर्य नेपाल इस्टर्न ओपन: दोस्रो दिन निरज ५ स्ट्रोकले अगाडि, पछ्याउँदै एमेच्योर राहुल
काठमाडौं। प्रो गल्फर निरज तामाङले लगातार दोस्रो दिन पनि अग्रता बनाउन सफल भएका छन्। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर तामाङले दोस्रो दिन पनि अग्रता बनाएका हुन्।
दोस्रो दिन साविक च्याम्पियन राहुल विश्वकर्मालाई समग्रमा पछि पारेका उनले ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका हुन्।
निरजले समग्रमा एमेच्योर राहुललाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले १२-अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरे। राहुलले पनि ६-अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७-अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहे।
समग्रमा ४-अन्डर १ सय ३६ को स्कोरमा धरानका प्रो शुक्र बहादुर राई र टंक बहादुर कार्की संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ३-अन्डर ६७ र टंकले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
तीन दिनसम्म चल्ने यो ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका थिए।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ।
The post सूर्य नेपाल इस्टर्न ओपन: दोस्रो दिन निरज ५ स्ट्रोकले अगाडि, पछ्याउँदै एमेच्योर राहुल appeared first on BIZMANDU.