npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

विराटनगर जेसीजको होली मिलन : गोपाललाई ‘महामूर्ख’ उपाधि

Saral Patrika 15 hours ago

विराटनगर ।  असत्यमाथि सत्यको विजयको प्रतीक होली पर्वको पूर्वसन्ध्यामा विराटनगर जेसीजले सोमबार एक भव्य ‘होली मिलन’ कार्यक्रम आयोजना गरेको छ । सद्भाव, मित्रता र आपसी मेलमिलापको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विराटनगर जुनियर जेसीजको सहजीकरणमा सम्पन्न भएको हो ।

देशमा चुनावी चटारो बढिरहेका बेला पनि आफ्नो परम्परा र संस्कारलाई जीवन्त राख्न यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कविराज दाहालले जानकारी दिए । कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू र जुनियर जेसीजका सदस्यहरूको उपस्थिति रहेको थियो । चुनावी आचारसंहिता र समयको संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रमलाई संयमित र मर्यादित बनाइएको आयोजकले जनाएका छन् ।

यस वर्षको विशेष आकर्षणका रूपमा प्रदान गरिने ‘महामूर्ख’को उपाधि पूर्व अध्यक्ष गोपाल गुप्तालाई प्रदान गरिएको छ । विराटनगर जेसीजमा लामो समयदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएका पूर्व अध्यक्षहरूमध्येबाट एक जनालाई व्यङ्ग्यात्मक रूपमा यो सम्मानजनक उपाधि दिने परम्परा छ ।

कार्यक्रममा जुनियर जेसीजका अध्यक्ष ओम जोगीले स्वागत मन्तव्य राखेका थिए भने कार्यकारिणी उपाध्यक्ष अनुज दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका संयोजक सरोज पौडेलले रङ्गहरूको पर्वमा सहभागी भई आपसी भाइचारा बलियो बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको जनसम्पर्क अधिकारी आकृति रानी फुयलले जानकारी दिइन् ।

 

Read more news from Saral patrika

Explore by Source or Category